‘विदेशी महिलालाई विवाह गर्नासाथ अंगीकृत नागरिकता दिनु हुँदैन’

असार १०, २०७७

एटुजेड अनलाइन खबर


रुपन्देही, असार १० : नेपाली कांग्रेस रुपन्देहीका युवा नेता अर्जुन पौडेलले विदेशी महिलालाई विवाह गरेर आउनेबित्तिकै राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिन नहुने बताएका छन्। विवाह गरेर आउनेबित्तिकै नागरिकता दिँदा नेपालका चेलीहरूको अधिकार खोसिने उनकाे भनाइ छ । उनले विदेशी महिलाको भन्दा पनि आफ्नै देशका महिला दिदीबहिनीहरूको अधिकारप्रति सबै सचेत बन्नुपर्ने बताए ।

कांग्रेस नेता पौडेलले नेपाली महिलाहरूलाई अधिकार नपुगेका बेला विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिएर राजनीतिक अधिकार दिने कुरा कुनै पनि रुपमा जायज नरहेको बताए । केही विदेशी महिलाहरूको अंगीकृत नागरिकताका कारण विवाद भएको स्वीकार गर्दै पौडेल ले अब त्यस्ता गल्तीहरू दोहोर्‍याउन नहुने बताएका छन् ।

उनले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नेहरूको हकमा राजनीतिक अधिकारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । ‘विदेशी महिलालाई वैवाहिक अंगीकृत नपाउँदासम्म वडा सदस्य समेत चुनाव लड्न नपाउनेगरी राजनीतिक अधिकारमा पूर्ण प्रतिवन्ध लगाउनुपर्छ’, कांग्रेस नेता पौडेलले भने, ‘संवैधानिक निकायमा पूर्ण बन्देज लगाउनुपर्छ ।’

उनले प्रशासनिक निकायको सर्वच्चो तह र न्यायिक सेवामा पूर्ण प्रतिवन्ध लगाउनुपर्ने बताएका छन् । ‘आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार दिनेगरी वैवाहिक अंगिकृत नागरिकता दिइनुपर्छ’, उनले भने ।

७ वर्षपछि नागरिकता दिने सवाल र विवाह गरे लगत्तै वैवाहिक अंगिकृत नागरिकता दिने सवालवीच भिन्नता नरहेको उनकाे भनाइ छ ।कांग्रेस नेता पौडेलले ७ वर्षपछि राष्ट्रघातीहरू राष्ट्रवादी हुन नसक्ने बताए । समयभन्दा पनि वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी कडा कानून बनाउनुपर्ने उनले दाबी गरे ।

नेपाली कांग्रेसले विवाह गरेर आउनेबित्तिकै विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिएर राजनीतिक अधिकार दिने पक्षमा अडान राखेका बेला कांग्रेस युवा नेता पौडेलको धारणा आएको छ ।