कोरोना कहर : आएनन् पर्यटक, सुनसान तिलिचो

साउन ०१, २०७७

एटुजेड अनलाइन खबर


नवीन लामिछाने

विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन् ।

आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन् । कहिले यो अवस्था सामान्य होला र व्यवसाय सुचारु गरौँला भनेर उनीहरु पर्खिरहेका छन् ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ ।

प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । यहाँ प्रत्येक याममा १२ हजार देखि १५ हजार स्वदेशी पर्यटकले भ्रमण गर्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । गुरुङका अनुसार यस तालमा धरै चलचित्रहरु पनि सुटिङ भएका छन् । नेपाली फिल्मदेखि म्युजिक भिडियो सम्म यहाँ सुटिङका लागि कलाकारहरु आउने गरेका छन् ।

स्वदेशी पर्यटकसँगै तिलिचो तालमा विदेशी पर्यटकको पनि उतिकै भिड हुने गर्छ । मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन् । कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन् । वर्षमा ३० हजार विदेशी पर्यटक भित्रिने गर्छन् र यसमध्ये आधाभन्दा बढी विदेशी पर्यटक तिलिचो पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।

तिलिचो घुम्ने उपयुक्त समय

हिमालको काखमा अवस्थित यो तालमा सधैँ जान कठिन हुन्छ । अत्यधिक चिसोको समय र हिमपातका बेलामा त्यहाँ पुग्न निकै कठिन हुने हुँदा जुनसुकै समयमा जान सकिँदैन । यहाँका स्थानीय त सधैँ गए पनि पर्यटकलाई भने जोखिम छ । हिमपात र बेमौसमी फूलको सुगन्धले पर्यटकलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले यहाँ जानका लागि भदौ, असोज महिना उपयुक्त मानिन्छ । भदौबाट सुरु भई मङ्सिरसम्म पर्यटक आवात जावत गर्ने गर्छन् । यो समयमा आकाश खुलेर निलो देखिन थाल्छ अनि निलो आकाश मुनि सेता हिमालका लहरहरु मुस्कुराउन थाल्छन् । यही मनोरम दृश्यले तान्छ पर्यटकलाई ।

‘‘स्वदेशी पर्यटकहरु विशेषगरी दशैँ, तिहारको लामो बिदालाई सदुपयोग गर्दै तिलिचो पुग्छन्,’’  होटल व्यवसायी कर्मडोन्डु गुरुङले बताए । पहिले  खासै स्वदेशी पर्यटक नआए पनि पछिल्लो समयमा स्वदेशी पर्यटकको मुख्य गन्तव्यस्थल बन्ने गरेको छ तिलिचो ताल ।

कसरी पुगिन्छ तिलिचो ताल ?

लमजुङको सदरमुकाम बेसिशहर हुँदै विश्व चर्चित अन्नपूर्ण पदमार्ग मार्फत तालसम्म पुग्ने यात्रा शुरु हुन्छ । बेसिसहर चामे सडकमा चल्ने सवारी साधानको प्रयोग गरेर र पैदल यात्राबाट पनि जान सकिन्छ । अधिकांश विदेशी पर्यटक पैदल यात्राबाट नै तिलिचो पुग्ने गरेका छन् भने स्वदेशी पर्यटकले सवारीसाधानमार्फत् पुग्ने गरेको पाइन्छ ।

पैदल यात्रीहरु १० दिन लगाएर पुग्छन् तिलिचो ताल । लमजुङ सदरमुकामबाट शुरु गरी बाहुनडाँडामा बास बस्दै घ्यार्मु, स्याँगे हुँदै दोस्रो दिन च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा बास बस्न पुग्ने गर्छन् । तेस्रो दिन मनाङ जिल्लाको नासों गाउँपालिका तालबाट शुरु भइ धारापानी, दानाक्यु, बगरछाप हुँदै चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङको सदरमुकाम चामे बास बस्ने गर्छन् । यसरी पैदल यात्रीहरुले बाटोभरि देखिने मनोरम दृश्यहरु हेर्दै, तस्वीरहरु खिच्दै रमाएर यात्राको मजा लिँदै गन्तव्यसम्म पुग्ने गरेको पाइन्छ ।

अग्लो पहाडको बिचबाट झरेका नागबेली छहराहरु, मस्र्याङ्दी नदीको कलकल आवाज, सेता हिमालका लहरहरुमा लहाराउँदै घुम्ने याममा बाटोभरि यात्रुहरु हिडिरहेका हुन्छन् । मनाङ सदरमुकामबाट देखिने लमजुङ हिमाल मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्य अवलोकनसँगै चौथो दिनको यात्रा तय गर्छन् । यसपछि यात्रा अरु दिनभन्दा अलि कठिन तर मनोमहक रहेको छ । अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्दै दुई हजार नौ सय मिटर देखि तीन हजार एक सय मिटरको उचाइमा पुगिन्छ ।

अर्को दिन ढुकुर पोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ बास बस्दै भोलिपल्ट ग्रिन ताल हँदै घ्यारु, ङावल, भ्राकामा बास बस्ने गर्छन् । यहाँबाट तीन हजार पाँच सय ४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोङ्कर घुम्न सकिन्छ । त्यस्तै भ्राका गाउँबाट चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, मिलेरेपा केभ जस्ता प्राकृतिक र धार्मिक स्थानहरुको अवलोकन गर्दै दुई दिन मनाङगाउँमा बास बसेर अरु यात्रा शुरु गर्ने गर्छन् विदेशी पर्यटकहरुले ।

यसरी यात्रा गर्दा भने लेक लाग्ने समस्या हुँदैन । उचाइसँग घुलमिल हुँदै  अर्थात् विस्तारै उकालो लाग्ने हुँदा लेकलाग्ने सम्भावना कम हुने पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ गाउँबाट खाङसार गाउँ, श्रीखर्क हँुदै चार हजार दुई सय मिटर उचाइमा रहेको तिलिचो बेस क्याम पुगिन्छ । यसैगरी यात्राको १०औं दिनमा सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

स्वदेशी पर्यटकले भने बेसिशहरबाट नै सवारी साधानको प्रयोग गरी एकै दिनमा मनाङ खाङ्सार पुग्ने गर्छन् । खङ्सार गाउँको छेउमै रहेको तारे गुम्बा हुँदै सात घण्टाको हिडाइपछि तिलिचो बेस क्याममा पुगिन्छ । बेस क्याम्पबाट चार घण्टामा यस तालमा पुग्न सकिन्छ । यसरी दुई दिनमा तिलिचो पुग्दा धेरै स्वदेशी पर्यटक भने लेक लागेर बिरामी पर्ने र बिच बाटोमै फर्किने समेत गरेको होटल व्यवसायी भुजुङ गुरुङले बताउनुभयो ।

पर्यटकको सहज यात्रा

पर्यटनको याममा पर्यटकको अत्यधिक चाप बढ्ने हुँदा खाने, बस्ने सुविधाको चाँजोपाजो मिलाइएको छ । चिसो ठाउँ हिमपातको सम्भावना हुने हुँदा न्यानो कोठा, तातोपानीसँगै आगो ताप्ने ठाउँको व्यवस्था प्रत्येक होटल व्यवसायीले गरेका छन् ।

बिरामी तथा अशक्तलाई तालसम्म पुर्याउन घोडाको व्यवस्था लगायत प्रत्येक होटलमा अक्सिजन सिलन्डर र प्राथमिक उपचारका सबै औषधी उपकरण राखिने गरिएको व्यवसायी भुजुङ गुरुङले बताए । होटल व्यवसायी र अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको सहयोगमा  असजिलो ठाउँमा बाटो निर्माण गरिँदै आएको छ ।

हिमपात ल्याण्डसाइड र असजिलो बाटो मर्मत गरिदै आएको उनले बताए । होटलका कोठाले नपुगेमा टेन्टको व्यवस्था मिलाएर न्यानो ठाउँमा पर्यटकका लागि व्यवस्था गरिएको उनको भनाई छ । गम्भीर बिरामीलाई हेलीको चार्टर गरेर सम्बन्धित अस्पतालसम्म पुर्याउने व्यवस्था खाङ्सार होटल व्यवसायी तथा खाङ्सार युवाहरुले गर्दै आएका छन् ।

तिलिचोको धार्मिक महत्व (कागभुसुन्डी मानसरोवर)

नेपालका अधिकांश तालतलैयाहरुले धार्मिक महत्व बोकेको पाइन्छ । यस्तै यो तालसँग पनि धार्मिक किंवदन्ती जोडिएको छ । त्रेता युगमा कागभुसुन्डी ऋषिले यसै तालको किनारमा तपश्या गरी बसेका र रामयणको पूरा पाठ गर्दा कागले रामयण कथा सुनेर रुँदारुदैँ आँसुबाट दह बनेको भन्ने पनि किंवदन्ती पाइन्छ ।

कैलाश पर्वतबाट भगवान् शिव पार्वती यहाँ आई तपश्या गरी यसै तालमा स्नान गरी स्वच्छ भएकाले यहाँको पानीलाई पवित्र जलको रुपमा लिने प्रचलन समेत रहेको छ । यिनै धार्मिक किंवदन्तीका कारण यहाँ भारत लगायत वैदिक सनातन धर्ममा विश्वास राख्ने धार्मिक गुरुहरु आई तपश्या गर्ने गरेको स्थानीय छिमि धेर्जे गुरुङले बताए । यहाँ प्रत्येक वर्ष साउन महिनामा वैदिक सनातन धर्मावलम्बीहरुको भीड लाग्ने गर्छ ।

गत वर्षमात्र १०५ जनाको बोलबम टोली यस तालमा स्नानका लागि पुगेका थिए । त्यस्तै बौद्ध धर्ममा पनि यस तालको उत्तिकै महत्व जोडिएको छ । मिलेरेपाले नेपालका हिमालय पर्वत घुम्ने क्रममा निलगिरि र तिलिचो पिकको फेदीमा तपश्या गर्दा बुद्धत्व प्राप्त गरेकाले यस ताललाई ज्ञान कुण्डको रुपमा चिन्ने गर्दछन् । हाल यस ठाउँमा भगवान शिव र भगवान बुद्धको मूर्ति सँगै राखिएको छ ।

कोभिड १९ को प्रभाव

दैनिक पाँस सय देखि एक हजार स्वदेशी तथा विदेशी पर्यटकले भरीभराउ हुने तिलिचो ताल कोरोना महामारीले गर्दा सुनसान छ । होटल व्यवसाय ठप्प भएको छ । जसले गर्दा पनि व्यवसाय नै धरापमा परेको छ ।

मनाङका अधिकांश मानिसहरु होटल व्यवसायमा आत्मनिर्भर रहेकाले यसरी विश्व महामारीका कारण वैकल्पिक पेसा अपनाउन बाध्य भएको होटल व्यववसयीको भनाई छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण देशमा पर्यटन विकासको वातावरण सहज बन्न सकेको छैन । कहिले सहज वातावरण बन्ने हो र पुनः पर्यटकको चहलपहल हुन्छ भन्ने पर्खाइमा मनाङवासी छन् ।

लेक लाग्नबाट कसरी बच्ने ?

अधिकांश स्वदेशी पर्यटक तिलिचो घुम्न आउने क्रममा बिरामी पर्ने गर्छन् । कोही त बिचबाटै पनि फर्कने गर्छन् । यसको कारण छोटो समयावधिमा र यहाँको हावापानी सँग घुलमिल नहुदै लामो यात्रा गर्न खोज्नुले हो । लेक लाग्नु (हाई अल्टिच्युड) मा पुग्दा हावापानी नमिल्नु प्रमुख कारण हुन्छ । लेक लाग्न नदिनका लागि विस्तारै र यहाँको स्थानीय हावापानीमा घुलमिल हुँदै उकालो चढ्नुपर्ने हुन्छ ।

तिलिचो तालसम्म पुग्न कम्तीमा पनि एक साताको समय छुट्याउन जरुरी हुन्छ । सवारी साधानको प्रयोगबाट एकचोटी धेरै उचाई र कम अक्सिजन हुने ठाउँमा पुग्नु हुँदैन । स्वदेशी पर्यटकले यस्ता हावापानीको विषयमा त्यति चासो दिएको पाइँदैन । विस्तारै हावापानीमा घुलमिल हुँदै उचाइमा पुग्दा भने लेक लाग्नबाट जोगिन सकिन्छ । लेक लाग्नबाट जोगिने उपाय भने पर्यटक आफैँले जानेर जानु पर्दछ ।

अधिकांश विदेशी पर्यटकले यहाँ आउनुपूर्व नै यसबारे अध्ययन गरेर र बुझेर आउने गरेकाले त्यति धेरै बिरामी पर्दैनन् । उनीहरु धेरै पैदल नै यात्रा गर्ने भएकोले एकै पटक माथि पुग्दैनन् । तर स्वदेशी पर्यटकहरु भने विना अध्ययन सवारी साधानबाट एकै पटक माथि उचाईमा पुगने भएकोले उनीहरुलाई अक्सिजनको कमी हुने गर्दछ । यसरी एकै पटक अग्लो ठाउँमा पुग्दा बिरामी हुने गरेका छन् । मनाङको हावापानीसँग घुलमिल हुन नसकेर लेकलाग्ने समस्याले च्याप्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

यहाँको वातावरणको अध्ययन गरी सवारी साधानको प्रयोगबाट आउँदा भने त्यस्तो समस्या हँुदैन । रिंगाटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, श्वास फेर्न कठिन हुने जस्ता समस्याहरु देखिएमा अघि बढ्नु उचित हुँदैन । यस्तो अवस्थामा जतिसक्दो चाँडो तल झर्नु उपयुक्त मानिन्छ । शरीरको तापक्रम सन्तुलित राख्नका लागि तातोपानी, लसुन, अदुवाको झोल खानु उपयुक्त हुन्छ ।

संसारकै सर्वाधिक अग्लो स्थानमा रहेको यस तालमा जाने रहर जो कसैलाई पनि हुन्छ । त्यसैले यहाँ आउनुअघि यहाँको बारेमा अध्ययन गर्न जरुरी हुन्छ । अध्ययन गरेर यात्रा गरेमा आफू पुग्न खोजेको गन्तव्यबाट मजा लिन पनि पाइन्छ र मानसिक र शारीरिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । रासस