वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

साउन ०९, २०७७

एटुजेड अनलाइन खबर


वीरगञ्ज, साउन ९ : कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

‘शंकास्पद संक्रमितको रुपमा कोभिड अस्पतालमा उपचार गरिरहेका थियौं, उपचारको क्रममा अपरान्ह मृत्यु थियो’ डा. उपाध्यायले भने, ‘अहिले पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।’ प्रयोगशालामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीसहित नौ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो । ‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ कोभिड अस्पतालका डा. निरज सिंहले भने।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए ।