भारतीयद्वारा नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा रोक

साउन ०९, २०७७

एटुजेड अनलाइन खबर


धार्चुला, साउन ९ : भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिंकर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।

नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको स्थानीयले बताए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको उनीहरू बताउँछन् ।

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि उनीहरूले स्थानीयलाई अवरोध गरेका हुन् ।

ब्याँस– १ छाङरु र तिंकरवासी हिमपात हुने पुसदेखि वैशाखसम्म जिल्ला सदरमुकाम खलङ्गालगायत तल्लो भागमा झरेर बस्छन् । जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन् । त्यसरी गाउँ फर्कने क्रममा त्यहाँका स्थानीय धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।