प्रवाससँग तेलुगु फिल्ममा दीपिका पादुकोण

साउन ०९, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, साउन ९ : कोरोना संक्रमणबीच सावधानी पूर्ण रूपमा बलिउड फिल्महरू छायांकन थालिएपछि दक्षिण भारतीय फिल्म उद्योग पनि सुचारु भएको छ । यसैक्रममा बाहुबालीका अभिनेता प्रवास र बलिउड अभिनेत्री दीपिका पादुकोण एक नयाँ फिल्ममा आबद्ध भएका छन् ।

हिन्दी र तामिल भाषामा समेत निर्माण गरिने तेलुगु फिल्ममा अभिनेता प्रवास र अभिनेत्री दीपिका आबद्ध भएका हुन् । यी दुई अभिनेता अभिनेत्री आफ्नो नयाँ फिल्ममा आबद्ध भएको फिल्म निर्देशक नाग अश्विनले बताएका छन् ।

फिल्ममा यी दुई आबद्ध भएसँग फिल्मको छायांकनको लागि उनीहरूलाई तयारी गराउन थालिएको पनि निर्देशक नागाको कथन छ ।

अभिनेता प्रवास अहिले फिल्म राधे श्याममा व्यस्त छन् । यो फिल्मको बाँकी छायांकन पूरा गरेर उनी नागाको नयाँ फिल्ममा आबद्ध हुने भएका छन् । यता दीपिकाको पनि पछिल्लो समय राम्रो सिनेमा आउन सकेको थिएन । गत वर्ष उनको फिल्म छपाक आएपछि उनी राम्रो फिल्ममा आबद्ध भएकी थिइनन् । यसपटक उनी प्रवाससँग तेलुगु फिल्ममा जोडिएकी हुन् ।