नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

साउन १०, २०७७

मन्जु गाैतम


काठमाडाैं, साउन १० : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो ।

८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।