संसदीय समितिबाट तीन राजदूतको नाम अनुमोदन

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, भदाै २५ : सरकारले विभिन्न तीन मुलुकका लागि प्रस्तावित गरेका राजदूतहरूको नाम संसदीय समितिले अनुमोदन गरेको छ । बिहीबार भएको संसदीय सुनुवाइपछि जर्मनका लागि प्रस्तावित राजदूत रामकाजी खड्का, बेल्जियमका साथै युरोपियन युनियनका लागि प्रस्तावित राजदूत गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि प्रस्तावित राजदूत तापस अधिकारीको नाम राजदूतमा अनुमोदन भएको हो ।

तीनवटै प्रस्तावित राजदूतले आफ्नो योग्यता, जिम्मेवारी, अवधारणा कार्ययोजनाबारे संसदीय समितिमा प्रस्तुति दिएका थिए । उनीहरूले दिएको प्रस्तुतिपछि समितिले प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदित गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

कर्णले भने, ’योग्यता क्षमता र अनुभवको आधारमा प्रस्तावित व्यक्तिहरू योग्य देखिँदा संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो ।’ प्रस्तावित राजदूतहरूले कोरोना संक्रमणपछिको अवस्थालाई मध्यनजर गरी भूमिका निर्वाह गर्ने बताएका थिए । उनीहरूले अबको कूटनीति आर्थिक क्षेत्रमा केन्द्रीत हुनुपर्ने भएकाले आफूहरू पनि सोहीअनुसार भूमिका निर्वाह गर्न लागिपर्ने उनीहरूको भनाइ थियो ।

समितिमा प्रस्तावित राजदूत राजभण्डारी विरुद्ध मात्रै उजुरी परेको थियो । बेरुजु रहेको र विगतमा पदअनुसार कार्य नगरेको भनेर परेका उजुरी हास्यास्पद रहेको भन्दै उनले प्रष्टिकरण दिएका थिए ।
सांसदहरूले मुलुकलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नका लागि प्रस्तावित राजदूतहरूलाई सुझाव दिएका थिए । संसदीय समितिबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।