ओली-दाहाल प्रस्ताव : केन्द्रीय कमिटीको बैठक कार्तिकमा

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाउने सहमती भएको छ । भोली (शुक्रबार) बस्न लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकका लागि तयार पारेको सहमतिको प्रस्तावमा केन्द्रीय कमिटीको बैठक कार्तिकमा राख्ने प्रस्ताव पेश भएको हो ।

पार्टीको दोस्रो बैठकको निर्णय अनुसार पार्टीको एकता महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्नका लागि बैठक बस्न लागेको छ । ‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कार्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरेर उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने’ प्रस्तावमा भनिएको छ ।

केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको कार्ययोजना सम्बन्धी प्रस्तावमा छलफल गरी आवश्यक निर्णय समेत हुने बताइएको छ । ‘संगठन विभागको कार्ययोजना आगामी कार्तिकभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रिय संगठन विभागमा पठाउने, प्रस्तावमा भनिएको छ, मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने, प्रवास क्षेत्रमा पनि सोही अनुरुप गर्नुपर्छ ।’

केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता-एकीकरणका बाँकी कामहरु असोज महिनाभित्र सम्पन्न गर्नेसमेत उल्लेख गरेको छ ।

‘केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठन हरु र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने र कार्यान्वयन हुन बाँकी रहेका पूर्ववर्ती निर्णयहरु कार्यान्वयन गर्ने’, प्रस्तावमा भनिएको छ ।

विवादका कारण अवरुद्ध हुन पुगेको एकीकरण पक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय गर्ने बताइएको छ । एकीकरणका सन्दर्भमा केन्द्रीय तहबाट गर्नुपर्ने काम केन्द्रीय सचिवालयले गर्ने र अन्य कामका लागि सम्बद्ध निकाय वा मातहत कमिटीलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बताइएको छ ।

पार्टी विधानमा उल्लेखित महानगर कमिटीको स्तर, मर्यादा र जिम्मेवारीलाई बुझ्ने तथा कार्यान्वयन गर्ने सन्दर्भमा विद्यमान अन्योलले एकीकरण प्रक्रियामा बाधा सिर्जना प्रष्ट्याइएको छ । ‘विधान अनुसार महानगर कमिटीको मर्यादा जिल्ला कमिटी सरह हो । तथापि महानगर कमिटी सम्बन्धित जिल्ला कमिटीको मातहत हुन्छ । यही मान्यता अनुरुप महानगर कमिटीको एकीकरण कार्य सम्पन्न गर्ने,’ प्रस्तावमा उल्लेख छ ।

अन्तरविरोध र असमझदारीले गर्दा कतिपय जिल्ला र सो मातहतमा पार्टी कमिटीहरु गठन हुन सकेकोबारे स्पष्ट पारिएको छ । ‘एकीकरणको क्रममा कतिपय स्थानमा मापदण्ड उल्लंघन भएको र अनुशासन लगायत अन्य विषयहरुमा उजुरी र गुनासाहरू प्राप्त भएका छन् । आगामी असोज महिनाभित्र सत्य–तथ्य यकिन गरी पार्टी विधान तथा नियमावलीका प्रबन्ध र निर्धारित मापदण्डको आधारमा यस्ता समस्याहरूको समाधान गर्ने जिम्मेवारी केन्द्रिय संगठन विभागलाई दिने’, भनिएको छ ।

पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको निर्णय अनुसार पार्टी एकताको भावना एवं मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न हुने जनाइएको छ । ‘महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्बन गर्ने, महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धती एवं नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने,’ भनिएको छ ।

‘विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्वपूर्ण विषयका रुपमा ग्रहण गर्ने र तदनुरुप मस्यौदा दस्तावेजहरु तयार गरेर मस्यौदा दस्तावेजहरु तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा पार्टी व्यापी बहस, छलफल सञ्चालन गर्नुपर्छ ।’ प्रस्तावमा भनिएको छ ।