‘म पदका निम्ति तमासा गर्ने मान्छे होइन’

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


अन्तरविरोधको गुजुल्टो फुकाउने कसरत गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । यहीबेला एउटा ‘न्यारेटिभ’ के बनिरहेको छ भने केपी शर्मा ओली र प्रचण्डवीच पुनर्मिलन भयो, तर माधव नेपालचाहिँ फेरि किनारामा धकेलिएका छन् र उनी असन्तुष्ट छन् ।

के नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालको असन्तुष्टि अझै जीवितै छ ? कार्यदलको प्रतिवेदन र त्यसका आधारका अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा नेता नेपालले ‘नोट अफ डिसेन्ट’ जनाउन लागेका हुन् ? यिनै प्रश्नको उत्तर खोज्न हामी विहीबार दिउँसो नेपाल निवास कोटेश्वर पुग्यौं ।

अनलाइनखबरसँगको लामो कुराकानीमा बरिष्ठ नेता नेपाल  निकै सन्तुलितरुपमा प्रस्तुत भए । प्रधानमन्त्री ओलीसँग चार दशकको सम्बन्ध रहेको र प्रचण्डसँग पनि तीन दशकभन्दा बढी संगत रहेको बताउँदै नेता नेपालले पार्टी विधि र पद्दतिको बाटोमा अग्रसर हुन थालेको सकारात्मक टिप्पणी गरे ।

दुई अध्यक्षले लिएको पछिल्लो ‘मूभ’प्रति बरिष्ठ नेता नेपाल सन्तुष्ट छन् कि असन्तुष्ट ? यसको जवाफ उनले ‘ग्रे एरिया’मा बसेर दिन खोजे । उनी अलिकति आशावादीजस्तो पनि देखिए ।

अन्तरवार्ताको रोचक पक्षचाहिँ के रह्यो भने नेता नेपालले आफ्नो भावनात्मक पक्षलाई बढी मुखरित गर्ने प्रयास गरे । म गीत गाएर हिँड्दिनँ, म पदका लागि तमासा देखाउने खालको मान्छे हैन र म चुनौतीको सामना गर्ने मान्छे हुँ भन्दै नेता नेपालले आगामी महाधिवेशनमा कार्यकर्ताले जे भन्छन् माधव नेपालले त्यही गर्ने बताए ।

प्रस्तुत त नेता नेपालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश 

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमाथि तपाईले सचिवालयको बैठकमा लिखितरुपमै १५ बुँदे ‘कैफियत’ जनाउनुभएको पाइयो । समस्या समाधानका लागि कार्यदलको प्रतिवेदन पर्याप्त छैन भन्ने यहाँको सार हो ?

अहिले सचिवालयका प्रस्तुत गरिएको कार्यदलको प्रतिवेदनमा कतिपय प्रशंगहरु रहेको मैले पाएँ । त्यहाँ लेखिएका कतिपय कुराहरु उपयुक्त थिएनन् । कतिपय अपूरो, अधुरो थियो । कतिपय अमूर्त थियो । त्यतिखेरको छलफलपछि हामीले अन्तिममा निकालेको निश्कर्ष के हो भने यही प्रतिवेदनलाई मान्दिऊँ । परिमार्जन गर्ने काम नगरौं । यसलाई सुधार्ने काम नगरौं । यो प्रतिवेदन आयो, अब यसलाई आधार बनाएर सचिवालयमा, स्थायी कमिटीमा प्रस्ताव पेश गरौं ।

त्यो प्रस्ताव पेश गर्दाखेरि प्रतिवेदनमा आएका कुराहरु पनि र सचिवालयको बैठकमा उठेका सुझाव र टिप्पणीहरुलाई पनि ध्यानमा राखेर दुईजना अध्यक्षले प्रस्ताव ल्याउने कुरा गरेपछि अहिले त्यो प्रस्ताव (अध्यक्षद्वयको प्रस्ताव) लिखितरुपमा आएको छ । यो प्रस्तावमा हामी भोलि छलफल गर्नेछौं ।

दुईजना अध्यक्षले प्रस्ताव तयार पार्दा तपाईसँग पनि परामर्श गर्नुभयो ?

त्यो उहाँहरुले ल्याउनुभएको हो, सचिवालयको बैठक बसेको छैन । तर, उहाँहरुले सबैको विचार र भावनालाई सुनेर, बुझेरै ल्याउनुभएको होला ।

मलाई ‘प्राइभेट कन्भर्सेसन’मा एकल अध्यक्षको प्रस्ताव आएको हो । प्रधानमन्त्रीको प्रस्ताव पनि आएको हो । मैले प्रचण्डजीलाई माइनस गरेर जान मिल्दैन भनेँ।

आलोचित छ भने खण्डन गर्न सकिन्छ, प्रष्ट पार्न सकिन्छ । कन्फ्युजन छ भने त्यसलाई स्पष्ट पार्ने कोसिस गर्न सकिन्छ । क्लिायरिटी छैन भने क्लियारिटी दिन सकिन्छ । त्यसो हुनाले कुनै चिज आयो भने त्यसलाई निषेध नै गर्न खोज्नुहुँदैन ।

‘एक व्यक्ति एक पद’ हुनुपर्छ भन्ने यहाँको जुन पूर्वअडान थियो, कार्यदलको प्रतिवेदनमा त्यो कुरा देखिएन । यहाँले अघि नै भनिसक्नुभयो कि कार्यदलको प्रतिवेदन सच्याइराख्नुपरेन, नयाँ प्रस्ताव दुई अध्यक्षले ल्याउने सचिवालय बैठकको स्पिरिट हो । तर, अध्यक्षद्वयको प्रतिवेदनमा पनि एकजनाले सरकार, एकजनाले पार्टी चलाउने मात्र भनिएको छ । यो कार्यविभाजनले यहाँको मागको स्पिरिटलाई सम्वोधन गर्‍यो कि गरेन ?

गर्‍यो । यसले गरेको छ । यो भाषा ठीक छ । अब यही ढंगले कामको जिम्मेवारी प्रत्येकले आ-आफ्नो ठाउँमा गर्नुपर्‍यो ।

अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने यहाँको भनाइ हो ?

कार्यान्वयन त अब निर्णय भइसकेपछि हुने कुरा हो ।

‘एक व्यक्ति एक पद’ को कुरा गरिरहँदा आफैंले अध्यक्ष चलाउने  तपाईको चाहना थियो भन्ने पनि चर्चा पनि सुनिन्छ नि ? तपाई अहिले दुई अध्यक्षवीचको कार्यविभाजनमा सन्तुष्ट हुनुहुन्छ त ?

मलाई अध्यक्षको त प्रस्ताव नआएको होइन । औपचारिकरुपमै मलाई अध्यक्ष बनाउने प्रस्ताव आएको थियो । तर, म आफू त्यो पदमा जान्न भन्ने मान्छे अरु कोही नभएर मै हुँ ।

मलाई ‘प्राइभेट कन्भर्सेसन’मा एकल अध्यक्षको प्रस्ताव आएको हो । एकल अध्यक्षको प्रस्ताव स्वयं अध्यक्ष कमरेड केपी शर्मा ओलीबाटै आएको हो । प्रधानमन्त्रीको प्रस्ताव पनि मलाई आएको हो । मैले के भनें भन्दाखेरि प्रचण्डजीलाई माइनस गरेर जान मिल्दैन ।

बरियताको कुरा आउँदाखेरि त्यसको पनि समाधान निकाल्न सकिन्छ भनें मैले । विधि अपनाएर यसलाई सम्वोधन गर्न सकिन्छ । त्यसैले मलाई पदको अफर आउनु ठूलो कुरा होइन । म पदका निम्ति टाँसिइरहनेखालको मान्छे होइन । त्यसको निम्ति लडाइँ, झगडा गर्ने, सारा तमासा गर्नेखालको मान्छे होइन ।

०६५ सालको बैशाखमा मैले महासचिवबाट राजीनामा दिएँ । कसैले राजीनामा मागेको थिएन, मैले चुनावको परिणाम आइसकेपछि आफैंले आफ्नो जिम्मेवारी ठानेर राजीनामा दिएँ । जबकि चुनाव त अरुले पनि हारेका थिए ।

प्रधानमन्त्रीबाट पनि राजीनामा माग्ने माओवादी चुप लागिसकेको थियो, २२ दलले मलाई समर्थन गरिरहेका थिए, तर मैले हाम्रो पार्टीभित्रकै आन्तरिक कारणले गर्दाखेरि मैले राजीनामा दिएँ । भनेपछि, पदमा टाँसिइरहन चाहेको भए मैले पनि तमासा देखाइदिन्थें । तर, २२ पार्टीको साथ र सबैको दबाव हुँदाहुँदै पनि मैले प्रधानमन्त्रीमा टाँसिइरहन चाहिनँ । पार्टीका नेताहरु नै आफ्नो पक्षमा छैनन् भने केका निम्ति टाँसिइरहनु ?

अहिले मलाई प्रधानमन्त्रीको पनि अफर आएको थियो । मैले प्रचण्डजीलाई सोध्नू, आलोपालो इत्यादिको पनि कुरा आएको छ, उहाँ नै तयार हुनुभएन भने बेग्लै कुरा हो, होइन भने म त्यत्तिकै मान्नेवाला छैन भनेर जवाफ दिएँ ।

यहाँले प्रचण्डप्रति यतिधेरै सदाशयता देखाउनुभयो, तर पार्टी एकतापछिको लामो समयसम्म त दुई अध्यक्ष मिलेर माधव नेपाल नजिकका नेताहरुलाई कर्नरमा पार्ने प्रयास त भयो नि हैन ?

यसमा म प्रचण्डजीलाई दोष दिन्नँ । किनभने, उहाँलाई पूर्वएमालेभित्रको थाहा हुन्न । उहाँले आफ्ना मान्छेहरुलाई बढीभन्दा बढी ठाउँ दिन खोज्नु स्वाभाविकै पनि हो, यसलाई म अस्वाभाविक ठान्दिनँ । पछि उहाँले रियलाइज गर्दै जानुभयो र रियलाइज गरिसकेपछि उहाँले आफूलाई सुधार गर्नुभयो र हामी सिस्सटममा चल्नुपर्छ भन्ने आवश्यकता महसुस गर्नुभयो । पार्टीमा मैले जुन इस्युहरु उठाएँ, त्यो ठीक हो भन्ने धेरैलाई लाग्न थाल्यो । र, अहिले पार्टीले त्यही दिशा समातेको छ जस्तो लाग्छ ।

यहाँले प्रयोग गर्नुभएको एउटा शब्द विशेष चर्चामा आएको थियो, दुईअध्यक्षको ‘चोचोमोचो’ बाट पार्टी चल्दैन, विधि र पद्दतिअनुसार चल्नुपर्छ । अहिले फेरि दुई अध्यक्षवीच ‘चोचोमोचो’ बढेको हो ?

अनुचित सम्बन्ध र अनुचित निर्णयहरु गर्नु चोचोमोचो हो ।

अब फेरि पार्टीमा त्यस्तो चोचोमोचोको सम्भावना छ कि छैन ? के अब पार्टी विधि र पद्दतिबाट चल्छ भनेर विश्वास गर्न सकिन्छ ?

सम्भावनाका पछाडि लाग्ने र सम्भावनाको विश्लेषण गर्ने मेरो बानी छैन । मनमा गर्छु, प्रचार गर्दै हिँड्दिनँ । आकाश खस्यो भने के गर्ने ? बस्दाबस्दै भूइँचालो आयो भने के गर्ने ? त्यस्तो भयो भने के हुन्छ भनेर सोध्नुहुन्छ, मैले के जवाफ दिने ?

अब के सम्भावना होला भन्ने त विश्लेषकहरुले विश्लेषण गरुन् न, हामी त काम गर्नेहरु हौं । हामीले सम्भावनाको खेती गर्ने होइन । हो, हामी काम गर्दाखेरि जम्मै पक्षहरुलाई दिमागमा राख्छौं, तर अरुलाई भनेर हिँड्दैनौं । त्यसकारण म भन्दै हिँड्दिनँ । पहिले नै यस्तो-उस्तो भनेर हिँड्ने मेरो बानी छैन । धेरै प्रचारात्मक हुने मेरो बानी छैन । मेरो बानी के छ भने जे गर्ने हो, ठाउँबाट गर्नुपर्‍यो । पद्दतिमा चल्नुपर्‍यो । पार्टीको प्लेटर्फममा जानुपर्‍यो ।

मलाई गाह्रो कतिबेला हुन्छ भने जब अरुले पद्दति उल्लंघन गर्छन्, त्योबेलामा मलाई छटपटी हुन्छ । अनि म बेलाबखतमा झुक्किँदोरहेछु । तर, म चुनौतीसँग नडराउने मान्छे हुँ । चुनौतीहरुको सामना गर्दै आएको मान्छे हुँ । सुरुदेखिको मेरो जीवनका प्रत्येक पक्षलाई हेर्ने हो भने मैले चुनौतीहरुको सधैंभरि सामना गरेको छु ।

पार्टीभित्रको वादविवादबाट म कहिल्यै पनि डराउँदिनँ । पार्टी भनेको वादविवादको थलो नै हो । समाज वादविवादबाटै चल्छ । त्यसैले वादविवाद भन्ने वित्तिकै यसलाई नकारात्मकरुपमा लिनुहुँदैन । वादविवादबाटै सम्वादमा पुगिन्छ । वादविवादकै क्रममा सही निश्कर्षमा पुग्न सजिलो हुन्छ । त्यसैले तर्क-वितर्कबाट आत्तिनुहुँदैन । समाज वर्गसंघर्षबाट चलेको छ र समाजको परिवर्तन पनि यही वर्गसंघर्षकै क्रममा चलेको छ । हाम्रो चिन्तन, दृष्टिकोण र विचारमा पनि वैचारिक संघर्ष चलिरहेको हुन्छ । फरक-फरक विचार र फरक-फरक तर्कहरुको वीचबाट नै हामीले सबैभन्दा उपयुक्त कुन हो भन्ने कुराको छनोट गर्नुपर्छ र साझा निश्कर्षमा पुग्नुपर्छ ।

कहिलेकाहिँ साझा निश्कर्षमा पुगेको कुरा गल्ती भइदिन्छ । तर विधि र पद्दति अनुसार त चल्दिनैपर्‍यो । त्यस्तोबेला धेरैले भनेको कुरालाई मानिदिनुपर्ने हुन्छ । तर, पछि थोरैले भनेको कुरा सही रहेछ भन्ने निश्कर्षमा पुग्न सकिन्छ । कम्युनिष्ट पार्टीको प्रणाली के हो भने यहाँ व्यक्ति सुपि्रम हुँदैन, यहाँ संगठन सुपि्रम हुन्छ । त्यसैले हामीले महाधिवेशनलाई सबैभन्दा सुपि्रम थलो हो भन्छौं । महाधिवेशनलाई किन सुपि्रम भनिन्छ भने पार्टी सदस्य नै सुपि्रम हुन्छन् । चुनावमा जनता सुपि्रम भएजस्तै पार्टीभित्र पार्टी सदस्यहरु सुपि्रम  हुन्छन् । महाधिवेशन नभएका बेला त्यो सुप्रिम थलो भनेको केन्द्रीय कमिटी हो  ।

केन्द्रीय कमिटीले कुनै पनि पदाधिकारीलाई तलमाथि पार्न सक्छ । कतिपयले नबुझेर हटाउन कहाँ पाइन्छ र भन्छन् । महाधिवेशनबाट आएको मान्छेले राम्रो काम गरेन र पार्टी भड्खालोमा गयो भने के हुन्छ ? पार्टी ओरालो लाग्न थाल्यो भने के हुन्छ ? त्यसैले हटाउन पाइँदैन भन्ने यो केन्द्रीय कमिटीका बारेमा राम्रो ज्ञान नभएका, राम्रो नबुझेका वा बुझ पचाएकाहरुले भन्ने कुरा मात्रै हो ।

सरकारको नेतृत्व गर्नेहरुको हकमा पनि यही कुरा सत्य हो ? जहाँ संसदीय दलले प्रधानमन्त्री बनाएको हुन्छ…

प्रधानमन्त्री र अध्यक्ष दुईटै पदबाट हटाउनुपर्छ भन्ने धारणा मेरो होइन । किनभने, मान्छेलाई अलिकति ठाउँ त दिनुपर्छ । प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा रोज्नू न त  भनेको हुँ

हो । हामी आमरुपमा अस्थिरताको पक्षमा हुँदैनौं । कोही त्यत्तिकै बहुलाएको त छैन नि, कि मान्छेलाई त्यत्तिकै हटाउँदै हिँड्ने । फेरि यहाँ पदका निम्ति मरिहत्ते गर्ने काम पनि खासै भएको त देखिँदैन । कसैकसैमा त्यो पनि होला । तर, सबै मान्छे उस्तै हुन्छन् भन्ने ठान्नुहुँदैन ।

तर, अघिल्लो वर्षतिरै प्रधानमन्त्रीलाई हटाउनुपर्छ भनेर सचिवालयका नेताहरुले भनेको तर माधव नेपालले रोकेको भन्ने सुनिन्थ्यो, त्यस्तो भएको हो ?

त्यसबेला मैले सार्वजनिकरुपमै भनें, सरकारमा अस्थिरता पैदा गर्नुहुँदैन, यो सरकार पाँच वर्षका निम्ति हो । म त यो मन्त्रिमण्डल पुनर्गठन गर्ने हल्ला पनि गलत हो भन्छु । पुनर्गठनको हल्ला मच्चायो, अनि त्यही दिनदेखि त्यो मन्त्रीलाई सचिव र कर्मचारीले टेर्न छोडिदिन्छ ।

तर, अहिलेको प्रस्तावमा त मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिएको छ त ?

यो आम कुरा हो । यस्ता कुराहरु व्यक्तिको मुखबाट निस्कनुहुँदैन । फाल्ने वा कुन ठाउँमा राख्ने भन्ने पार्टीको कुरा हो । यो कुरा पहिले नै भन्दै हिँड्ने होइन । आन्तरिकरुपमा हुन सक्छ, तर त्यसलाई सार्वजनिक घोषणा गर्ने होइन । यसो गरियो भने जिम्मेवारी पाएकाहरुले राम्ररी काम गर्न सक्दैनन् । जे गर्नु छ, ठाउँमा, बेलामा गर्नुपर्छ ।

अहिले राम्रो काम गरेकाहरुलाई हटाउने चर्चा गरिँदैछ । किनभने हामीकहाँ मूल्यांकनको पद्दति ठीक भएन । खाली कागजमा मीठो, राम्रो कुरा लेखिएको छ । गहिराईमा गएर हामीले मूल्यांकन गरेका छैनौं । त्यसैले मैले यो सरकार परिवर्तनको कुरा गर्दै हिँड्नु ठीक हैन मैले भनेको हुँ ।

तर, प्रधानमन्त्री र अध्यक्ष दुईटै पदबाट हटाउनुपर्छ भन्ने धारणा मेरो होइन । किनभने, मान्छेलाई अलिकति ठाउँ त दिनुपर्छ । प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा रोज्नू न त  भनेको हो ।

कुनै पनि व्यक्तिप्रति मैले कहिल्यै पनि पूर्वाग्रह राखिरहन्न । तर, सुधार होस् भन्ने मेरो चाहना रहन्छ । मबाट पनि कुनै त्रुटी भएको छ भने त्यसलाई पनि सहजरुपमा स्वीकार गर्ने पक्षमा रहेको मान्छे हुँ म । मैले बैठकमा वा भेटघाटमा दुईवटै पदबाट हट्नोस् भनेर प्रधानमन्त्रीज्यूलाई कहिल्यै पनि भनिनँ ।

दुईवटा अध्यक्षको व्यवस्था भइसकेपछि दुई अध्यक्षको वीचमा काम बाँडे भयो नि, सकी नसकी किन भ्याउने ? किनभने, ०५१ सालमा सरकारमा रहेका बेला म पार्टीको महासचिव थिएँ, हामीले उपमहासचिव विशेष पदको व्यवस्था गर्‍यौं र वामदेव गौतमलाई संगठन चलाउने जिम्मेवारी दियौं । र, उहाँले संगठन चलाउनु पनि भयो ।

त्यसैले स्वाभाविक कुरा के हो भने सरकारको जिम्मा लिएर प्रधानमन्त्री भइसकेको मान्छेले दुबैतिर काम गर्न भ्याउँदैन । मान्छेको अभाव छ भने त एउटैमा खातका खात जिम्मेवारी दिँदा पनि हुन्छ । मान्छे बग्रेल्ती छन् र काम गर्न सक्ने काबिल मानिसहरु छन् भने जिम्मेवारीलाई एक ठाउँमा केन्दि्रत गर्नुहुँदैन ।

कुनै ठाउँमा थुप्रो जिम्मेवारी राख्ने र कसैलाई कुनै पनि जिम्मेवारी नदिने भन्ने कुरो आउँदैन । यी कतिपय चिजहरु मिलेको छैन । हामीसँग भलण्डै ४५० को संख्यामा केन्द्रीय कमिटीका सदस्यहरु हुनुहुन्छ । मानिसहरुको अभाव छैन । अनुभवको कमी छैन । मान्छेलाई जाँच्ने नै हो भने पनि कामको जिम्मा दिएर जाँच्न सकिन्छ । मान्छेको जाँच गर्न धेरै समय लाग्दैन,  ३ महिनामा, ६ महिनामा जाँच भइहाल्छ ।

पार्टीभित्रको अन्तरविरोधका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको विश्लेषण कार्यदलको प्रतिवेदनले गरेको छ । यहाँहरुले पटक-पटक अलग समूहका बैठकहरु राख्नुभयो । आखिर नेकपाभित्र किन अन्तरविरोध चर्किएको हो ? यसको कारण के हो ? अन्तरविरोधको स्रोत के थियो ? यसको कुनै खोजविन गरियो ?

मेरो विचारमा यसको कारण के हो भने समस्याहरुलाई बेवास्ता गर्ने । गुनासाहरुलाई बेवास्ता गर्ने । आलोचनाहरुलाई बेवास्ता गर्ने । आफूले चाहिँ आफूखुशी गर्ने, अरुलाई मात्रै अंकुश लगाउन खोज्ने । यस्तो कुराले विद्रोह हुन्छ । र, विद्रोह परिस्थित सिर्जना गर्न खोजियो । अरुका निम्ति जे लागू हुन्छ, आफ्ना लागि पनि त्यही लागू हुनुपर्छ । आफूले लागू नगर्ने र अरुलाई लागू गराउन खोज्ने, नेतृत्वले यसो गर्न मिल्दै मिल्दैन । नेतृत्वले उदाहरण प्रस्तुत गर्नुपर्छ ।

त्यसकारण कहाँ-कहाँ त्रुटि भए, म धेरै कुरा कोट्याउन चाहन्न । कार्यदलको प्रतिवेदनले एउटा रामै्र कुरा गरेको छ कि हामी अतीतमुखी भएर नजाऔं, भविश्यमुखी भएर जाऔं । यो सोच ठिकै पनि हो, यसलाई मैले सकारात्मकरुपमा लिएको छु । अब धेरै अतीतमा अल्झेर बस्न हुँदैन । जनताले हामीबाट ठूलो आशा र अपेक्षा गरेका छन् । जनताले ‘परफरमेन्स’ खोजेका छन् ।

यसका निम्ति हाम्रो पार्टीभित्र जुन बहस हुनुपर्ने हो, त्यो बहसको त कुरा छाड्नोस् एजेण्डामा हामीले छलफलै गरेका छैनौं । मैले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई कतिचोटि भनेको छु, तपाई भ्याउनुहुन्न भने यो जिम्मा हामीलाई दिनोस् न बाबा । मलाई नदिनोस्, प्रचण्ड कमरेडलाई त दिनोस् । या अरु कुनैलाई जिम्मा दिनोस् । मै पनि जिम्मा लिन तयार छु, म भाग्दिनँ । हामीले विज्ञलाई बोलाउनुपर्छ कि, पार्टीका कार्यकर्तालाई बोलाउनुपर्छ कि, हामी गर्छौं ।

तर, यहाँ कस्तो बानी छ भने केही जिम्मेवारी माग्यो भने हेर त पद मागेको भन्छन् । जिम्म लिएन भने हेर त डराएर हिँड्यो, हिम्मतै नभएको, असहयोग गरेको भन्छन् । मैले प्रधानमन्त्रीको चाहना छैन भन्दा ‘हिम्मत भए पो’ भन्ने टिप्पणी सुनें ।  क्षमता भए पो भनेको पनि सुनें, अब हेर्नोस् त । प्रधानमन्त्रीका लागि तयार छैन भन्दा यस्तो टिप्पणी आउँछ । तयार छु भन्यो भने हेर त पदका लागि मरिहत्ते गर्‍यो भन्ने टिप्पणी आउँछ । हाँस्यो भने किन हाँसिस् ? गम्भीर भयो भने किन गम्भीर भइस् ? ए बाबा, केही गर्दा पनि सुख छैन । उठ्दा पनि किन उठिस्, बस्दा पनि किन बसिस् । तर, यसको पछाडि कुदेर केही पार पनि लाग्दैन ।

तपाईहरुले कार्यदल बनाउनुभयो, प्रतिवेदन आयो, भोलि स्थायी कमिटीको बैठक बस्दैछ । कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ । चैतमा महाधिवेशन गर्ने सहमति भएको छ । विगतको अन्तरविरोध मथ्थर हुँदै गर्दा ओली, प्रचण्ड वा माधव नेपाल समूहमध्ये कसको हार र कसको जीत भयो ? ओली र प्रचण्ड फेरि मिले, तर माधव नेपाल समूहले के पायो भन्ने प्रश्न पनि त उठेको छ नि ? अहिले के प्राप्ति भयो ?

प्राप्ति भनेको पार्टीलाई विधिमा चलाएर बलियो बनाउने । गतिशील बनाउने । पार्टीको गतिशीलतालाई वृद्धि गर्ने । पार्टीमा न्यायपूर्ण ढंगबाट कुनै पनि कामहरु गर्ने । न्यायपूर्ण ढंगबाट भन्नेवित्तिकै विधि र पद्दतिको कुरा आयो । सही विचार र सही नीतिको कुरा आयो ।

पवित्र उद्देश्यमात्रै भएर पुग्दैन, धेरै ज्ञानका कुरा त ठुल्ठुला नेताहरुले दिइसकेका छन् । तर, नदी पार गर्नका लागि राम्रो भावना भएर मात्रै पुग्दैन । नदी पार गर्नका लागि ठीक तरिका अपनाउनुभएन भने तपाई डुब्नुहुन्छ ।  घरमा प्रवेश गर्ने तपाईको पवित्र उद्देश्य छ, तर ढोकाबाट प्रवेश गर्नुपर्छ । झ्यालबाट प्रवेश गर्न थाल्नुभयो भने तपाईलाई मान्छेले चोर भन्छन् । त्यसकारण, भावना मात्रै पवित्र भएर पुग्दैन, तरिका पनि सही हुनुपर्छ ।

भनेपछि, अहिले कसैको हारजीत भन्दा पनि नेकपा विधि र पद्दतिको बाटोतिर अग्रसर भएको छ र यो सही छ भन्ने तपाईको ठहर हो ?

अवश्य पनि । यो सकारात्मक छ ।  मूल कुरा के हो भने मनभित्र पाप कसैको पनि हुनुभएन ।

केही महिनायता नेकपा जसरी अन्तरविरोधको गञ्जागोलमा फस्यो, यसमा माधव नेपालको कति दोष छ ?

मेरो दोष छ भने मलाई बताउनुपर्‍यो नि । मैले त पछिसम्म पनि, मभित्र यत्रो बज्रपात हुँदा पनि मैले त सहेकै हो ।

तर, तपाई पूर्वएमालेको नेता हुँदाहुँदै प्रचण्डतिर अलि बढी नजिकिनुभयो भन्ने गुनासो पनि त आयो नि ?

हामीले एकता गरिसकेपछि पूर्वएमाले र पूर्वमाओवादी त अब सकियो त । अहिले के त ? अहिले पूर्वएमाले भो कि पूर्वमाओवादी भो त ? माधव नेपाल लाग्दाखेरि पूर्वएमाले हुने, अरु लाग्दाखेरि के व्याख्या हुन्छ त्यसको ? यसमा केही भन्नु छैन । सही विचारमा, सही ठाउँमा निकटता बढ्छ ।

तपाईले यसवीचमा सरकारलाई, प्रधानमन्त्रीलाई अलि सहयोग गर्नुभएन कि ?

के चिजमा सहयोग गरिनँ ? के गर्नुपर्ने थियो ? कहीँवीचमा गएर आदेश दिनुपथ्र्यो कि ? बाटघाटा बनाउने कुरामा, पुल बनाउने कुरामा कतिचोटि बोलेको छु । संसदीय समितिमा बोलेको छु । राष्ट्रिय नीतिहरुका बारेमा बोलेको छु । बजेट निर्माणका बारेमा भनेको छु । कामको प्रभावकारिता भएको छ कि छैन, त्यो भनेको छु । मलाई आफ्नो कहाँ फोरम दिएको छ, त्यहाँ म बोलेको छु । बाटामा त्यतिकै कराउँदै हिँड्ने कुरो त आएन Û कसैले सोध्यो भने बताउने हो ।

सरकारले असाध्यै राम्रो काम गरिराखेको थियो, तर तपाईले संसदबाटै ‘देश डुब्न लाग्यो’ भन्दिनुभो भन्ने उताको गुनासो छ नि ?

जब व्यापक टिप्पणी हुन थाल्यो, टिप्पणी भएपछि मैले यो कुरा उठाएँ । मैले उदाहरणै प्रस्तुत गरें, म आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि जनता यति आक्रोशित भएको पाएँ कि मैले यो कुरा बताउने कि नबताउने ? भ्रष्टाचारका बारेमा कुरा आएको छ । यतीका बारेमा कुरा उठिहरेको छ । सरकारको आफ्नै ध्वजाबाहक विमान हुँदाहुँदै पनि यती एयरलाइन्स नै नभई नहुने कारण के हो त ? निजी कम्पनीहरुलाई प्रोत्साहन गर्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ, तर, सरकारी कम्पनीलाई कमजोर बनाउनुहुँदैन ।

मैले त्यहाँ भाषणमा भनेको छु कि यो देश डुब्न लाग्यो, किनारा लगाइदेऊ माझी छौ कि कोही देश बचाइदेऊ । मैले यो शिशिर योगीको गीत त्यहाँ सुनाएँ । त्यो भाषण अहिले पनि सुने हुन्छ ।

साँखु जाने बाटोको स्कुलमा विद्यार्थीहरुले गाएको गीतको कुरा पनि मैले राखें । त्यहाँ सडकमा खाल्डै खाल्डो छ । जनताले त्यहाँ पुग्दा पहिले सरकारलाई गाली गर्छन् । त्यसपछि मलाई गाली गर्छन् । मैले यति धेरैचोटि कराइसकें, त्यसलाई सुनेर कार्यान्वयन भइरहेको छैन । सुनुवाई भएन भनौं, गरेजस्तो देखिन्छ, मैसँग मन्त्रीहरु पनि हिँडिरहेका छन्, तैपनि काम हुँदैन । किन भएन त ? ठोकिने कहाँ हुन्छ भन्दा सरकारमै ठोकिन्छ । मैले भनेको भनेकै, कराएको कराएकै छु ।

सरकारका बारेमा जनतामा लोकपि्रयता आउन सकेको छैन, जनतामा गुनासाहरु छन् भने के-के कुराहरुमा गुनासा छन् र केले गर्दा लोकपि्रयता घटेको छ भन्ने कुराको राम्रो खोजविन गरौं । राम्रो विश्लेषण गरौं । सबै कुराहरुलाई राम्ररी हेरौं, यसका लागि पार्टीको मेकानिज्म पनि त छ नि । राजा महाराजाले राज्यको मेकानिज्म प्रयोग गर्थे भने त हामीसँग पार्टीको मेकानिज्म छ । तेस्रो मेकानिज्म मिडिया र सिभिल सोसाइटीहरु छन् । यी माध्यमबाट पनि जनताका गुनासाहरु थाहा पाउन सक्छौं ।

एउटा सिंगो कसौंडीमा भारत पाकेको छ कि छैन भनेर भित्रको एउटा सिता छामेर थाहा पाउन सकिन्छ । त्यसैगरी जनता सन्तुष्ट छन् कि छैनन् भनेर पत्ता लगाउनलाई जनतामा गयो भने थाहा भइहाल्छ । हाम्रा कमजोरीहरु छन् भने निर्ममतापूर्वक आत्मालोचना गरेर सुधार्नुपर्छ ।

अध्यक्षद्धयको प्रतिवेदनमा आगामी महाधिवेशन सहमतिमै गरिने भनिएको छ । त्यो सहमति भनेको ओलीजीले अध्यक्ष दाबी नगर्ने, प्रचण्ड अध्यक्ष बन्ने त होला नि ?

हरेक विषयको भित्री गहिराइसम्म बुझेको छु । अहिले यत्ति भन्छु, पार लागे त होस् न ! मैले जे देखिरहेको छु, जति बुझेको छु, त्यस्तो नभईदेओस् !

कुनै पनि विषय सकेसम्म सहमति नै हुन्छ । विमतिबाट गर्ने भनेर कहिँ लेखेको हुन्छ ? (लामो हाँसो ….)

तर, यो लेखाइको अर्थ प्रतिपर्धा नगर्ने भनेको त होला नि ?

यो समस्यालाई सहमतिबाट हल गर्न खोजेको हो । फेरि तपाईले अहिलेदेखि नै प्रतिस्पर्धाबाट भन्नुभयो भने मान्छे तर्सिँदैनन् ? (लामो हाँसो ….) सकेसम्म सहमतिकै कोशिु गर्ने हो । सबैलाई मान्य भयो भने सहमतिबाट नै हुन्छ । तर, जति प्रयास गर्दा पनि कसैले मानिदिएन भने तपाई के गर्नुहुन्छ ? त्यसकारण तपाईले बुझ्नुपर्ने मूल कुरा के छ भने पार्टी चल्ने भनेको मुख्य नेताहरुको समझदारीबाटै हो । मूल नेताहरुबीच विश्वास हुन सक्यो भने कार्यकर्ता त्यही नेताको माध्यमबाट चल्छन् ।

मैले पहिलेदेखि भन्दै आएको छु, कार्यकर्ताको सबै चाहना पूरा गर्न सक्नुहुन्न । आफूलाई समर्थन गर्ने पनि सबैको सक्नुहुन्न । किनकि एउटै ठाउँमा सबैको आँखा हुन्छ । हिजो पो हामी थोरै मान्छे थियौं, एउटै व्यक्तिमाथि धेरै जिम्मेवारी हुन्थ्यो । गाउँ कमिटीको सचिव पनि मै थिए, जिल्लाको प्रमुख पनि थिएँ, केन्द्रीय सदस्य पनि थिएँ । अहिले त एउटै पदमा आकांक्षी धेरै हुन्छन् । त्यसलाई हल गर्न हामीले एउटा विधि बनाउनुपर्छ, जसले सबैलाई बाँध्छ । दोस्रो, म्यानेज गर्न पनि सिपालु हुनुपर्छ ।

त्यसैले यहाँ (प्रतिवेदनमा) लेख्नुलाई मैले अन्यथा ठानेको छैन । हरेक विषयको भित्री गहिराइसम्म बुझेको छु । अहिले यत्ति भन्छु, पार लागे त होस् न । मैले जे देखिरहेको छु, जति बुझेको छु, त्यस्तो नभईदेओस् भन्ने चाहन्छु ।

व्यक्तिगत रुपमा भन्दा चाहिँ तपाई रिटायर्डमेन्ट लिने कि आवश्यक पर्‍यो भने नेतृत्वका लागि तयार छु भन्नेमा हुनुहुन्छ ?

यस्ता कुरामा म धेरै गीत गाएर हिँड्ने मान्छे होइन । ०६२ को असोज महिना हुन सक्छ, महाराजगञ्जमा बसेको ७ पार्टीको बैठकमा गिरिजाबाबुले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो । त्योबेला संसद थिएन, पार्टीहरुले हामी सबैको साझा उम्मेदवार माधव नेपाल भनेर (राजा) ज्ञानेन्द्रलाई भने । ज्ञानेन्द्रले खेल खेले, स्वीकार गरेनन् । तर, त्यो बेलादेखि सहमतिको पक्षमा भएको मान्छे म ।

जब २०६३ माघ १० गते राजा ज्ञानेन्द्रको घोषणापछि ११ गते महारागञ्जमा गएर म आफैंले गिरिजाबाबुको नाम प्रस्ताव गरेँ  । के म उहाँलाई चुनौती दिन सक्दिनथेँ ? गिरिजाबाबुको अग्लो व्यक्तित्व भएकाले मैले त्यसलाई अवमूल्यन गर्न उपयुक्त ठानिनँ ।

पार्टीको आगामी महाधिवेशनमा पनि माधव नेपालका कारण असहमति हुँदैन भन्न खोज्नुभएको हो ?

कार्यकर्ताले के भन्छन्, त्यसकै आधारमा हुन्छ । माधव नेपालले पनि कार्यकर्ताले जे भन्छन्, त्यही गर्छ । तर, सकेसम्म हामीले खोज्ने सहमति नै हो ।

त्यसोभए अहिले नेकपाको अन्तरविरोध जुन किनारामा आइपुगेको छ, यसमा तपाईको ठूलो असन्तुष्टि छैन भनेर बुझ्दा हुन्छ ?

खासै छैन । कतिपय विषय संशोधन गर्नुपर्ने, थप व्याख्या गर्नुपर्ने होला । हुँदै पनि जाला । आजको दिनमा म यति भन्छु, डकुमेन्टका आधारमा काम होस् । कार्यकर्तामाथि न्याय हुनुपर्‍यो, आग्रह पाल्नुभएन र हामी सबै सुध्रिनुपर्‍यो । अनलाइनखबरबाट साभार