मिथिलामा महावीर झण्डोत्सवको रौनक

माघ २७, २०७६

एटुजेट अनलाइन खबर


महोत्तरी, माघ २७ : मध्यपूर्वी तराईमा श्रीपञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खासगरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ ।

भक्ति, साहस र अतुलनीय पराक्रमका लागि सम्झिने त्रेताकालीन रामभक्त हनुमानलाई मिथिलामा विघ्ननाशक, सङ्कटमोचक, महावीर र पवनदुतसहितका नामले स्मरण गरिन्छ । महावीरका नाउँमा झण्डोत्सव आयोजना गरिँदा नगर÷गाउँ बस्तीमा कुनै विपत्ति नआउने, सुखशान्ति छाउने र दुष्टको प्रवेश नहुने विश्वासले मिथिलामा यो महोत्सवको प्रचलन चलेको यस परम्पराका जानकार बताउँछन् ।

प्रदेश२ का आठै जिल्लामा धमाधम महावीर झण्डोत्सव मेला आयोजन हुने र कैयौँ ठाउँमा सम्पन्न हुँदैछन् । यसबाहेक सीमावर्ती भारतीय जिल्लामा पनि महोत्सवको रौनक बाक्लै देखिँदो छ । रङ्गीचङ्गी पतकाजडित विशाल झण्डा महोत्सवको मुख्य आकर्षण हुने गर्छ । उत्तरायण (माघे सङ्क्रान्तिदेखि असार मसान्तसम्मको अवधि) को शुक्लपक्ष महोत्सवका लागि उपयुक्त मानिन्छ । चैतपछि हावाहुरीको प्रकोप बढ्ने हुँदा माघ÷फागुनमै बढीजसो महोत्सव आयोजना हुने गरेका महोत्तरीका प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

महावीर झण्डोत्सव मिथिलामा सामूहिक रुपमा मनाइने हर्षोल्लासको उत्सव होआफ्नै बस्तीमा अहिले झण्डोत्सवमा सरिक रहनु भएका मण्डलले भने श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म वसन्तको उत्कर्ष रहने हुँदा धेरैजसो महावीर झण्डोत्सव यसैबीचमा आयोजन गरिन्छन् ।

महोत्सव आपसी भेटघाट र रमाइलो गर्न उपयुक्त अवसर मानिन्छ । महिनौँ लगाएर बनाइने आकर्षक पतकाजडित झण्डा ५० फिट अग्लासम्म बनाइन्छन् । तलैतलाका खण्डमा विन्ध्याञ्चल पर्वत बोकेका हनुमानका तस्बिर र शिरानमा विजयको प्रतीक मानिने रातो झण्डा फहराइने यो महोत्सवको खास आकर्षण हो ।

भजनकीर्तन, खेल मनोरञ्जन र नाटक महोत्सवसहितका कार्यक्रम आयोजना गरिने यस अवसरमा दलका शीर्षतहका नेताको सहभागिताले राजनीतिक चहलपहल बढाउने गरेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन् ।

शुक्लपक्षको ठीक मुहूर्तमा उद्घाटन गरिने महोत्सव कैयन ठाउँमा महिनाभरि लाग्ने गरेका छन् । खेतीपातीमा अलि फुर्सदिलो समय पर्दा मनोरञ्जनका लागि एक÷दुई दिन रमाइलै हुने गरे पनि लामो मेला भने अत्यन्त खर्चिलो र भड्किलो बन्दै गरेको टिप्पणी बढेको छ । यस्ताखाले धार्मिक अनुष्ठान समयक्रमअनुसार परिमार्जित गर्दै थोरै दिनका र कम खर्चिलो बनाउन आवश्यक रहेको नयाँ पुस्ताका शिक्षित युवा बताउँछन् ।

हाम्रो संस्कृति थेग्ने र प्रवद्र्धन गर्ने मुख्यपक्ष त ठीक मान्न सकिन्छमहोत्तरीको भङ्गाहा नगरपालिका५ राजपुरका सामाजिक÷राजनीतिक कार्यकर्ता लक्ष्मण महतो भन्छन्, ‘यद्यपि मेलामा सुरक्षा बन्दोबस्तमा राज्यको उपस्थितिले बढाउने खर्च, मेलामा बढ्ने फोहर र प्रदूषणले महामारी निम्तिने डर र मेलाका नाउँमा बढ्दो तडकभडक कम गर्न महोत्सव कम दिनका तथा कम खर्चमा आयोजना गरिनु पर्दछ ।