महिलाको शिक्षा, स्वास्थ्य र सीपमा जोड

माघ २७, २०७६

एटुजेट अनलाइन खबर


चिप्लेढुङ्गा, माघ २७ : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिला सशक्तीकरणका लागि महिलाको शिक्षा, स्वास्थ्य र सीप विकास गर्दै क्षमतावान बनाउन जरुरी रहेको बताएका छन ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराले आयोजना गरेको ‘समृद्ध एवं मूल्यनिष्ठा समाजको लागि नारी सशक्तीकरण’ कार्यक्रममा उनले नैतिकवान नागरिक निर्माणका लागि ब्रह्माकुमारीको अभियानमा सामाजिक मन्त्रालय तयार भएको बताए ।

पोखरा महानगरपालिका–११ मा २१ करोडको लागतमा बन्न लागेको दिव्य शान्ति अनुभूति केन्द्र स्थलमा आयोजित उक्त कार्यक्रममा शिक्षा प्रभाग, राजयोग एजुकेशन एण्ड रिसर्च फाउण्डेशनका उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी शिलुले आन्तरिक शक्तिलाई विकास गर्नु नै सशक्तीकरणको सही परिभाषा भएको बताए । संस्थाका नेपाल उपनिर्देशक राजयोगिनी ब्रह्कुमारी दुर्गा र पश्चिम नेपाल निर्देशक ब्रह्मकुमारी परिणिताले आध्यात्मिक शिक्षाले हरेकलाई अनुशासित बनाउन सिकाउने बताउनुभयो ।

भरतपुरमा खानेपानी सेवा विस्तार गरिँदै

रत्ननगर, माघ २७ : भरतपुरका सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र भरतपुर खानेपानी व्यवस्थापनको संयुक्त लगानीमा खानेपानीको सेवा विस्तार गर्न लागिएको हो ।

डेढ वर्षभित्र सक्ने गरी ३६ करोड लागतमा तीन हजार ५०० धारा थप गर्ने योजना बनाइएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ७० प्रतिशत र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत लगानीमा भरतपुरमा खानेपानी योजना शुरु गर्न लागिएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इञ्जिनीयर चिरञ्जीवी सेढाईंले भने, ‘यसका लागि डिपिआर तयार भइसकेको छ । अब एक दुई दिनमै बोलपत्र आह्वान गर्दैछौँ ।’ आयोजनाबाट खानेपानी ट्याङ्कीसहित ७५ किलोमिटर क्षेत्रमा पाइप विस्तार गरिने सेढाईंले जानकारी दिए ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रहेको चार लाख लिटरको ओभर ट्याङ्कीको विकल्पमा नौ लाख लिटरको ट्याङ्की निर्माण गर्न लागिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख प्रजापति दाहालले बताए । उनले भने, ‘नयाँ ट्याङ्की बन्यो भने भरतपुर १०, ११ र १२ नम्बर वडालाई सहजरुपमा खानेपानी पु¥याउन सक्दछौँ ।’ अहिले सञ्चालित ट्याङ्की जापान सरकारले २०५६ सालमा निर्माण गरेको थियो ।

अहिले बोर्डअन्तर्गत पुनमचोक, कृष्णपुर, धनगढा, प्रेम बस्तीमा ओभरहेट ट्याङ्की र धनगढा आँपटारी, कृष्णपुर, पुनमचोकमा भूमिगत ट्याङ्कीको पानी भरतपुरका १७ वडामा वितरण गरिएको छ । अहिले दैनिक दुई करोड १७ लाख लिटर पानी २७ हजार ग्राहकले सेवा लिइरहेका छन् ।

जखडीमाई सहलगानी खानेपानी आयोजनामार्फत भरतपुर ११ नम्बरमा साढे चार लाख लिटरको ओभर ट्याङ्की निर्माण गरिने उनले जानकारी दिए । यसका लागि डिपिआरसमेत स्वीकृत भइसकेको छ । बाइपास रोडमा रहेको पुरानो पाइपको विकल्पमा २०० एमएमको पाइप राख्ने तयारीसमेत गरिएको छ ।

सडकको बीचमा पुरानो पाइप भएकाले त्यसको विकल्पमा नयाँ पाइप गाड्ने तयारी रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जानकारी दिएको छ । कार्यालयका अनुसार बाइपास रोडको १० किलोमिटर क्षेत्रमा नयाँ स्थानमा पाइप गाडिँदै छ । सडकको दुवैतर्फको फुटपाथमुनिबाट पाइप बिछ्याइने छ ।