चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

माघ २९, २०७६

एटुजेट अनलाइन खबर


सियोल, माघ २९ : कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकामा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्य रहेका छन् । तीमध्ये छ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

उद्धार गरिएका व्यक्ति चढेको चार्टर्ड बिमान बिहान ०६ बजे पश्चिमी सियोलको गिम्पो अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । कोरोना भाइरसको लक्षण देखिएका यात्रुलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको थियो । बाँकी यात्रुलाई सियोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ ।

दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिस बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७०१ जनाको उद्धार गरिएको छ । तेस्रो उडानका यात्रुमध्ये करिब ६० जना चिनियाँ नागरिक छन् । उनीहरु दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरुलाई चिनियाँ अधिकारीको स्वीकृति लिएर उडानमा समावेश गरिएको हो ।

सियोलले पछिल्लो उडानमा ७० जना चिनियाँसहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो तर सबै व्यक्ति बिमानमा किन आएनन् भन्ने अन्यौल नै छ । उद्धार गरिएका व्यक्तिलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीले बताएका छन् । अझै पनि उहानमा कबिर १०० जना दक्षिण कोरियाली रहेको विश्वास गरिएको छ ।

दक्षिण कोरियामा दुई दर्जनभन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ अद्यापी कुनै पनि व्यक्तिको आजसम्म मृत्यु भएको छैन । चीनमा भने भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १०० पुगिसकेको छ भने ४४ हजारमा सङ्क्रमण देखिएको छ ।