न्यू ह्याम्पसायरमा बर्नी स्यान्डर्सको जित, दुई जनाले फिर्ता लिए उम्मेदवारी

माघ २९, २०७६

एटुजेट अनलाइन खबर


म्यान्चेस्टर, संयुक्तराज्य अमेरिका, माघ २९ : अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमानअनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी भएका छन्  । पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवम् पूर्वउपराष्ट्रपति जो बाइडेनलगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको छ ।

अधिकाँश मतगणना भइसक्दा पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले २६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । यही राज्यमा स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए ।

एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्यान्डर्सले उत्साहित समर्थकलाई सम्बोधन गर्दै भने, ‘न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु ।

यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो,’ छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने । उनले न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई अब कसैले रोक्न नसक्ने बताए  ।

दोस्रो स्थानमा रहनु भएका इण्डियाना राज्यका पूर्वमेयर पीट बुटिगीगले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ । उहाँ आगामी अझ कठिन राज्यमा पनि चुनावी मैदानमा स्यान्डर्ससँग भिड्ने योजनामा छन् ।

अब हाम्रो अभियान नेभाडा, दक्षिण क्यारोलिना हुँदै देशका कुनाकाप्चासम्म विस्तार हुनेछ र हामी हरेक चरणमा नयाँ सहयोगीलाई स्वागत गर्नेछौं,’ स्यान्डर्सले भने ।

उदारवादी सोचकी सिनेटर एमी क्लोबुचर २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको छ । सिनेटर एलिजाबेथ वारेन करिब नौ प्रतिशत मतका साथ चौथो स्थानमा छन् । ट्रम्पले व्यङ्ग्य मिश्रित ट्वीट गर्दै भन्नुभएको छ, ‘बुटिगीगले आज राति राम्रै नतिजा ल्याए  । बर्नीको पागलपनलाई बुटिगीगले चुनौती दिँदैछन् । धेरै चाखलाग्दो!

बाइडेनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्वउपराष्ट्रपति बाइडेनका लागि आठ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति हो ।

चन्दा संकलनसमेतमा निकैपछि परेका बाइडेनका लागि चुनाव परिचालन अहिले फलामको च्यूरा सरह भएको छ । राष्ट्रपतिको उम्मेदवारको टिकट प्राप्त गर्नेतर्फ उहाँको प्रयास निकै कमजोर हुनुका साथै समर्थकमा उत्साह सिर्जना गर्न असफल देखिएको छ ।

प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडो सिनेटका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । तपाईंलाई थाहा छ म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसङ्ख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौँ,’ आफ्ना समर्थकलाई सम्बोधन गर्दै याङले भने ।

सतहत्तर वर्षीय स्यान्डर्सले न्यु ह्याम्पसायरको प्राथमिक चुनाव जित्ने पहिल्यै अड्कलबाजी गरिएको थियो, तर बुटिगीगले यति कडा चुनौती देलान् भन्ने अनुमान गरिएको थिएन । बुटिगीगको चुनावी अभियान दलका सदस्य न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका छन् । आयोवामा बुटिगीगले झिनो मतान्तरमा स्यान्डर्सलाई पराजित गरेका थिए ।

राष्ट्रिय सर्वेक्षणमा स्यान्डर्सको तुलनामा बुटिगीग १० प्रतिशतले पछि रहेको देखिएको छ । आगामी दिनमा विविधतापूर्ण जनसङ्ख्या रहेका राज्य रहेका र त्यहाँ अफ्रिकीअमेरिकीको जनसङ्ख्या पनि कम छ ।

पूर्वउपराष्ट्रपति बाइडेनको समूहमा रहेका अर्बपति व्यापारी एवम् न्यूयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्ग पनि मार्च ३ मा हुने अर्को प्राथमिक चुनावमा सहभागी हुने तयारीमा छन् ।

पहिलो चारवटा राज्यमा चुनावी प्रतिस्पर्धामा नरहेका ब्लुमबर्ग मार्च ३ को सुपर ट्युज्डेको मतदानमा सहभागी हुनुहुनेछ । यो दिन देशका १४ वटा राज्यमा एकै दिन प्राथमिक चुनाव हुँदैछ । यस दिन ब्लुमबर्गले चुनावी प्रचारका लागि व्यक्तिगत करिब २६ करोड अमेरिकी डलर खर्च गर्ने योजना रहेको छ ।