सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण शुरु

माघ २९, २०७६

एटुजेट अनलाइन खबर


अत्तरिया, माघ २९ : कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण शुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग संक्रमणलगायत विषयमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण शुरु गरेको हो ।

अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका नौवटा जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ । आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीनवटा टोली गठन सर्वेक्षणको कार्य थालनी भइसकेको उनले जानकारी दिए ।

पचास वर्ष उमेरमाथिका जनसंख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने उनको भनाइ छ । उनले नेपालमा कूल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको बताए । सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ ।

गेटा आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा ५ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा शून्य दशमलव आठ प्रतिशत जनसंख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो ।