जुत्ता मेलामा ग्राहकको भीड

फागुन १४, २०७६

एटुजेट अनलाइन खबर


काठमाडौं, फागुन १४ : प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको जुत्ता–चप्पल मेलामा सर्वसाधारणको बाक्लो भीड लागिरहेको हुन्छ । सस्तो मूल्यमा गुणस्तरीय जुत्ता–चप्पल पाइने भएपछि मेलामा आउने गरेको शिखर सुजकी सञ्चालिका संगीता कडरियाले बताइन् । ‘हामीले जुत्ता–चप्पल अरूबेलाको भन्दा आधा मुल्यमा दिइरहेका छौं,’ उनले भनिन् ।

मेलामा बिएफ डियर हिल, रन, शिखर सुज, ल्यान्डवाक र सुल्यान्डका जुत्ता–चप्पल किन्न पाइन्छ । मेलामा चप्पल सय रुपैयाँ देखि र जुत्ता पाँचसय देखिनै उपलब्ध गराएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘१५ देखि ६० प्रतिशतसम्म छुट दिएका छौं,’ उनले भने ।

त्यहाँ महिला र पुरुष दुवैले बिभिन्न मोडलका जुत्ताचप्पल खरिद गर्न सक्छन् । पार्टी, स्पोर्ट्स, क्याजुअल, स्कुल, अफिस, लेडिज चप्पल, गमबुट, सिजनल बुटलगायत सबैखाले जुत्ता–चप्पल मेलामा पाउन सकिन्छ । ‘हामी महिलाको चप्पल उत्पादनमा अग्रणी छौं,’ सुल्यान्डका सञ्चालक सुरज बन्जाडेले भने, ‘मेलामा हामीले महिला लक्षित दर्जनौं मोडलका चप्पल सार्वजनिक गरेका छौं ।’ सबै उमेर समूहका महिलाले आफ्नो रोजाइको चप्पल खरिद गरिरहेको उनको भनाइ छ ।
‘हामीले स्कुले विद्यार्थीलक्षित सस्तो जुत्ता मेलामा राखेका छौं,’ ल्यान्डवाक सुजका सौरभ श्रेष्ठले भन्छन्, ‘विवाहसिजन लक्षित धेरै मोडलका पार्टी सुज पनि मेलामा राखेका छौं ।’ जुत्ता–चप्पल मेला फागुन महिना सम्म चल्नेछ ।