पुस्तक समीक्षा : जीवन र मृत्यु रहस्य खोतलौंँ

फागुन १५, २०७६

एटुजेट अनलाइन खबर


–राजु शाक्य

काठमाडौँ, फागुन १५ : मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन ? हरेक चेतनशील मानिसले यो प्रश्नको उत्तर खोजिरहेको हुन्छ । बाल्यकाल र युवावयमा अध्यात्मप्रति खासै चासो रहँदैन । जब उमेर ढल्किँदै जान्छ र शरीर शिथिल भएर जान्छ, उसमा आध्यात्मिक चेत खुल्न थाल्छ । योग, ध्यान, सत्सङ्ग, पुण्यादि कर्ममा उन्मुख हुन्छ । जीव र जगत्को रहस्य थाहा पाउने प्रयत्नमा ऊ लागिपर्छ ।

हामीलाई यो भ्रम छ कि मरेपछि या त बैकुण्ठ प्राप्ति हुन्छ या नरकबास हुन्छ । आत्मा, स्वर्ग, नरक, भगवान्का बारे जे जति ज्ञान आर्जन गरे पनि संशय रहुन्जेल लाभ प्राप्त हुुँदैन । यो संशय मेटाउन आवश्यक छ । जीवन–मृत्यु रहस्यबारेको संशय मेटाउन चाहने जिज्ञासुका लागि  राधामाधव समिति नेपालले ‘जन्म–मृत्यु रहस्य’ पुस्तक प्रकाशनमा ल्याएको छ । जगद्गुुरु कृपालुजी महाराजका नेपाली प्रचारक स्वामी हरिदासजीका शृङ्खलाबद्ध प्रवचनलाई लिपिबद्ध गरिएको यो पुस्तक केही दिनअघि कुलपति गङ्गाप्रसाद उप्रेतीका हातबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा विमोचन भयो । पुस्तकमा ‘गीता’ र ‘वेद’का श्लोक उद्धरण गर्दै सरल भाषामा अथ्र्याइएको छ र व्यावहारिक दृष्टान्त र वैज्ञानिक आधारसहित पुनर्जन्म हुन्छ भन्ने तथ्य पुष्टि गर्न खोजिएको छ ।

स्वामीजी भन्नुहुन्छ, यो आत्मा(जीवात्मा) मायाको वशमा छ अर्थात् अज्ञानयुक्त छ । महात्मा अर्थात् महान् आत्मा पहिले हामी जस्तै थिए । पछि महान् आत्मा बने । कसरी ? उनीहरुले मूलको ज्ञान जाने र अनुभवबाट जे चिज बताए त्यो अनुभवात्मक ज्ञान बन्यो । मायावी संसारमा भुलिरहेका अज्ञानीले जे बताए त्यो विज्ञान र जसले मूलको ज्ञान अनुभव गरेर बताए त्यो ज्ञान र यी दुवैको जनक, उद्गमस्थल जुन हो त्यो महाज्ञान, परमज्ञान, परमात्माको ज्ञान हो ।

जन्म–मृत्यु गम्भीर दार्शनिक विषय हो र बुझ्न दुष्कर छ तर स्वामीजीले यसलाई सरल र बोधगम्य भाषामा व्याख्या गरेका छन् । सनातन वैदिक धर्ममै सर्वोच्च ज्ञान गीता ज्ञान हो जहाँ बताइएको छ कि जो जन्मिन्छ त्यो अवश्यै मर्छ र जो मर्छ त्यो अवश्यै जन्मिन्छ । मृत्युपछि पनि जीवन रहन्छ र यही कुरालाई अन्य शास्त्रमा पनि समर्थन गरिएको जिकिर उनी गर्छन् । चौरासी लाख प्रकारको शरीरमा जीवात्मा घुमिरहन्छ, जन्म–मृत्यु भइरहन्छ  तर आत्मा अजर, अमर छ । फेरि मृत्यु कसको हुन्छ त ? स्वामीले यसै कुरालाई खोतलेर जनसाधारणमा पस्कने सराहनीय प्रयास गरेका छन् ।

मृत्युपछि जीवन छैन, स्वर्ग छैन, नरक छैन, जे छ सबै शरीरै हो भन्ने चार्वाकको दर्शन छ । युनानी गणितज्ञ युक्लिडको स्टेट्रलाइट जोमेट्रीले मृत्युपछि जीवात्मा फेरि जन्मिने मान्दैन । विद्यमान जड पदार्थबाटै निर्जीव, सजीव वस्तु उत्पादन हुन्छन् र विनष्ट हुन्छन् । नष्ट भइसकेपछि फेरि त्यो अस्तित्वमा आउँदैन । ग्राभिटेशनल फोर्स सिद्धान्तका प्रतिपादक आइज्याक न्यूटनका अनुसार ब्रह्माण्ड यन्त्रसमान छ । जसरी यन्त्रले बिस्कुट छाप्छ त्यस्तै जीवलाई पनि छाप्छ र यो जड पदार्थले नै चेतन पैदा गर्छ । मेकानिस्टिक थ्योरी अफ युनिभर्सले पनि यसै कुरालाई समर्थन गर्ने स्वामीजी मान्छन ।

वैज्ञानिक चाल्र्स डार्बिनको इभोलुशन थ्योरीले पनि चार्वाक दर्शनलाई नै व्याख्या गर्छ । यस सिद्धान्तको अन्तरनिहित भाव यही हो कि जड पदार्थबाट विकास हुँदै  चेतन जीव बने, मृत्युपछि केही रहँदैन, पुण्यपाप केही छैन, जे गर्दा पनि हुन्छ ।

ज्ञानले पुनर्जन्म भन्छ र नैतिक र पुण्यका काम गर्न प्रेरित गर्छ । विज्ञानले यो मान्दैन, जे गर्न पनि छुट दिन्छ । यहीँ संशय भयो भन्ने तर्क स्वामीजीको हो । उनी भन्छन, संशय रहेसम्म भगवद् क्षेत्र वा कुनै पनि क्षेत्रमा एक कदम पनि चाल्न सकिँदैन । त्यसले पतनतिर डो¥याउँछ मात्रै ।

‘गीता’को चौथो अध्यायको चालीसाँैं श्लोकको सहारा लिँदै स्वामीजी भन्छन – जसको संशययुक्त आत्मा छ, त्यो पतन हुन्छ र त्यो यो मृत्युलोक र परलोकमा सुखदायी रहँदैन ।

सुख, आनन्द, भगवान् जे भने पनि एउटै हो । आनन्द चाहनु नै भगवान् हो, भवगत् क्षेत्रमा प्रवेश गर्नु हो । मायावी संसार कसैले चाहँदैन, त्यो दुःखदायी छ तर अज्ञानले गर्दा सबैजसो  मायावी संसारमै भुलिरहेका हुन्छन् । जीवात्मा भगवान्कै अंश हो । जीवात्माका लागि भगवान् भेटाउने उपाय शरणागति हो भनेर उनी सुझाउनुहुन्छ । त्यसो भएपछि मात्र भगवान्को कृपा प्राप्त हुन्छ जुन तीर्थ गरेर वा करोडाँैं दान गरेर पनि प्राप्त हुँदैन । मायिक जीवले दिव्य भगवान्लाई देख्न सक्दैन भन्ने उनको मान्यता हो ।

प्राणी मात्रमा इन्द्रिय छ, इन्द्रियमाथि मन, मनमाथि बुद्धि, बुद्धिमाथि आत्मा, आत्मामाथि माया र मायाभन्दा माथि परमात्मा छ । भगवान्लाई हामीले नदेख्नु, नभेट्नु र  दर्शन नहुनुको कारण माया हो । हामी आफ्नै आत्मालाई त जान्दैनाँैं, परमात्मा त परको कुरा । मानव देह कुनै पनि बेला खोसिन सक्ने भएकाले त्यसको तुरुन्तै उपयोग गरिहाल्नुपर्छ, भोलि गरुँला नभन भन्ने उनको आग्रह छ । उनका अनुसार ‘म’ भगवान्को अंश हो र त्यो आत्मा हो । ‘मेरो’ शरीर भगवान्को अंश होइन । ‘म’ तत्वलाई भुलेर आफूलाई शरीर मान्दै  मानिसले गल्ती गरिरहेको उनी ठान्छन् ।

स्वामीजीको प्रवचनलाई जस्ताको जस्तै उतार्ने प्रयास पुस्तकमा भएको छ । पढ्दै जाँदा कतै रोकिनु पर्दैन । गहन विषयमाथिको चर्चा भएकाले पाठकलाई थुप्रै ठाउँमा घोत्लिन बाध्य पार्छ । वाक्य गठन कता कता नमिलेको आभास भए पनि व्याकरणगत त्रुटि छैन भन्नुपर्छ । पुस्तकमा मूल्य राखिएको छैन ।