१३ औं बृहत् शैक्षिक मेला हुने

असार ०६, २०७६

मन्जु गाैतम

काठमाडौं, असार ६ – नेपाल शैक्षिक परामर्श संघले बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । १३ औं संस्करण भव्यताका साथ आयोजना गर्ने अध्यक्ष विष्णुहरि पाण्डे पत्रकार सम्मेलनमा बताए । नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भई सकेको नेपाल शैक्षिक परामर्श संघले ‘बृहत शैक्षिक मेला २०७६’ भृकुटीमण्डपमा सञ्चालन गर्ने भएको छ । असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्श लिन सक्ने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साइप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहने छ ।

शैक्षिक परामर्शका साथसाथै मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि ब्यवस्था गरिने छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस प्रा. लि.को व्यवस्थापनमा यो मेला सम्पन्न हुदैछ भने यस मेलाको प्रजेन्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ ।

यस पटकको मेलामा विगतमा भन्दा केहि नयाँ विशेषताहरु हुनेछन् । करिब ४०० सयको स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको व्यवस्था हुनेछ ।