खुला चीनपछि खुल्दैछ तिब्बत

June 26, 2019

एटुजेट अनलाइन खबर

ल्हासा, तिब्बत, असार ११ – सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई गरिएकोे आह्वान थियो त्यो ।

 

त्यस बमोजिम विदेशी लगानीकर्ताहरू पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई आजको यो रुपमा ल्यायो । चीन अहिले अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीन र विश्वका अर्थशास्त्रीहरू भन्छन् – ‘वर्तमान चीन निर्माणको भित्री साँचो यही खुला नीति हो ।’ माओको सांस्कृतिक क्रान्तिजस्तै देङ सियाओ पिङलाई चिनियाँहरू आर्थिक क्रान्तिका अगुवा मान्छन् ।

 

विगतका केही वर्षयतादेखि तिब्बतमा पनि खुला तिब्बत अवधारणामा बहस थालिएको छ तर, त्यो खुला चीन नीतिभन्दा भने फरक छ । तिब्बत विकासका लागि चीनले विदेशी लगानीकर्तालाई खुला गर्न अहिले त्यति जरुरी छैन, किनकि यहाँ केन्द्र सरकारकै अथवा चीनकै लगानी चाहिए जति छ । त्यसैले यो खुला नीति बाहिरी संसार र विशेष गरी पश्चिमा राष्ट्रहरूका लागि लक्ष्यित रहेको चिनियाँ अधिकारीहरू बताउँछन् ।

 

तिब्बत के थियो र अहिले के छ भन्ने कुरा चीन देखाउन चाहन्छ । त्यस समय लगानीकर्ताहरूलाई आह्वान गरेको चीन अहिले भने चीन विकासको ‘तिब्बत नमूना’ संसारलाई देखाउन चाहन्छ । तिब्बत, जुन पश्चिमा विश्वले सोचिरहेको छ, त्यो होइन भन्ने कुरा तिब्बतमै पुगेर हेरोस् भन्ने ऊ चाहन्छ । त्यसैले विश्वका कैयौँ देशका नीति निर्माता, प्राध्यापक, पत्रकार, लेखक, राजनीतिक दलका नेता, वैज्ञानिक र सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरू बोलाएर तिब्बत विकास र तिब्बतको खुलापनका विषयमा चीनले वर्षेनी अध्ययन भ्रमण र सम्मेलन गर्ने गरेको छ ।

गत हप्ता ल्हासामा सम्पन्न तिब्बत विकास मञ्च सम्मेलनमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सहभागी फुदान विश्वविद्यालयका प्राध्यापक सेंघाई लि तिब्बतको परम्परा र संस्कृति धेरै धनी छ, यसबाट कुनै देश या क्षेत्रभन्दा पनि संसार नै लाभाान्वित हुन सक्छ भन्छिन् । अहिलेको तिब्बतमा चीन विकासको खास नमूना देख्न सकिन्छ, त्यसैले खुला तिब्बतको चिनियाँ बहस सार्थक रहेको उनी ठान्न्छन् । संस्कृत लगायतका विश्वका पुराना भाषाहरूको अध्ययन गरिरहनुभएका लिले तिब्बतमा चीन सरकारले तिब्बती भाषा र संस्कृतिको संरक्षणमा गरेका कामको सराहना गरे ।

 

तिब्बतको इतिहास पढेर र तिब्बतको पुरानो अवधारणामै रहेर अहिलेको तिब्बतको वास्तविकता बुझ्न नसकिने चीनमा रहेर प्राध्यापन गरिरहनुभएका नेपाली प्राध्यापक डा.राजिवकुमार झा बताउँछन् । उनी भन्छन् – ‘तिब्बत पश्चिमा संसारले हिजो गरेको कल्पनाजस्तो अहिले छैन । यसलाई बुझ्न हिजोको मानसिकताले काम पनि गर्दैन, स्थलगत अध्ययन नै गर्नुपर्छ ।’

 

तिब्बतको विकास नेपालका लागि पनि खुशीको कुरा हो भन्ने मान्यता उनी राख्छन् । चिनियाँ शहरहरूमध्ये तिब्बत नेपालसँग भौगोलिक, धार्मिक र सांस्कृतिक हिसाबले पनि धेरै नजीक रहेकाले तिब्बतको विकासले नेपाललाई फाइदा पुग्ने उनको तर्क छ । सो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल ‘एक चीन नीति’मा स्पष्ट रहेको र पछिल्लो समयमा नेपाल र चीन सम्बन्ध निकै राम्रो रहेको प्रसङ्ग उल्लेख गरे । समृद्ध छिमेकीबाट लाभान्वित हुन नेपालले पनि सिक्नु पर्ने र त्यसलाई अनुसरण गर्न सक्नुपर्ने धारणा उनले राखे ।

 

सन् १९५९ अघि तिब्बतमा सामन्ती र अझ विशेषगरी भू–दास प्रथा थियो । अत्यन्तै सीमित मानिससँग जमीनको स्वामित्व थियो । राज्यको स्रोत सीमित मानिसको हातमा थियो तर, सन् १९५९ को प्रजातान्त्रिक सुधारपछि भने तिनै व्यक्ति जमीनका मालिक भए ।

 

शिक्षामा सर्वसाधारण नागरिकको पहूँच थिएन । कम्तीमा ९५ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित थिए । त्यहाँका जमिन्दार तथा सम्भ्रान्त वर्गमा पर्ने पाँच प्रतिशत बालबालिकालाई मात्र शिक्षाको अवसर थियो । तर अहिले आमूल परिवर्तन आएको छ । गत वर्षको एक तथ्याङ्क भन्छ, यहाँका बालबालिकामा विद्यालय भर्ना दर ९९.५ प्रतिशत छ । यो प्राथमिक तहको शिक्षामा हो । त्यस समयको सबै शिक्षा प्रणालीलाई भत्काएर नागरिकका लागि आवश्यक शिक्षालाई सहज र पहूँचयोग्य बनाइएको छ । विद्यालयसम्मको शिक्षा लगभग निःशुल्क छ । चिनियाँ र अङ्ग्रेजीका अतिरिक्त तिब्बती भाषामा पनि यहाँ शिक्षा दिइन्छ । यसमा पनि तिब्बती भाषाको संरक्षण र सम्बद्र्धनमा उनीहरूको विशेष जोड देखिन्छ ।

 

त्यसैगरी, आजभन्दा ६० वर्षअघि यहाँको बालमृत्यु दर प्रतिहजार कम्तीमा पनि ५० जना थियो । अहिले त्यो १.०२ जनामा झरेको छ । शिशु मृत्यु दर सन् १९६० को दशकमा प्रतिहजार ४३० जना थियो । त्यो घटेर सन् २०१७ मा १०.३८ जना रह्यो । त्यसैगरी, स्वास्थ्य सुविधाहरू त्यस समयको तुलनामा कम्तीमा पनि ३५ गुणाले बढेको छ ।

 

विकासको कुरा गर्दा सन् १९८० देखि २०१८ सम्मको अवधिमा करीब एक हजार आयोजना सञ्चालन भए । चीनको केन्द्र सरकारका यी आयोजनामा खर्बाैँ चिनियाँ युआन लगानी भएको तथ्याङ्क भेटिन्छ । यहाँको कुल गार्हस्थ्य उत्पादन सन् २०१८ मा १४७.७६३ चिनियाँ युआन रहेको छ । यो सन् १९५९ को तुलनामा करीब २०० गुणा बढी हो ।

 

सन् २०१८ मा मात्र तिब्बतले तीन करोड भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ । ती पर्यटक स्वदेशी र विदेशी नै हुन् । यो सङ्ख्या तिब्बतको जनसङ्ख्या भन्दा कैयौँ गुणा बढी हो । त्यो वर्ष यी पर्यटक मार्फत तिब्बतले ३४ करोड चिनियाँ युआन रकम राजश्व कमायो ।

 

यसरी तिब्बतको जनजीविकाको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । उपचार प्रणाली र जनस्वास्थ्यमा नागरिकको पहूँच प्रशंसनीय छ । शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत वस्तुहरूको उपलब्धता सहज छ । वातावरणीय स्वच्छता कायम छ र यसको संरक्षण र सम्बद्र्धनका लागि प्रयासहरू जारी छन् । सामाजिक सुरक्षाको प्रबन्ध राम्रो छ । ठाउँ ठाउँमा सरकारले नै वृद्धाश्रमहरू स्थापना गरी नागरिकलाई सेवा दिँदैआएको छ ।

 

चीन सरकारले ऊर्जा, भवन निर्माण र यसका सामग्रीहरूको उत्पादन, खनिज, खाद्य प्रविधि, संस्कृति झल्किने हस्तकला, तिब्बती परम्परागत औषधोपचार, पर्यटन जस्ता २० सम्भाव्य क्षेत्रको पहिचान गरी यहाँ विकास अभियान थालेको हो । सडक, रेलमार्ग, ठूला पर्वत तथा पहाडमा सुरुङ खनेरै राजमार्ग निर्माण गरिएका छन् । आन्तरिक र बाह्य हवाई रुटहरूको स्थापना र सञ्चालन गरेर तिब्बतले उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

 

औसत चार हजार मिटरभन्दा माथिको बस्ती हो तिब्बत । सूर्यको किरणबाट नजीकको बस्ती तिब्बतलाई संसारका उच्च हिमालय पर्वतको बस्ती पनि मानिन्छ । त्यसैले यसलाई संसारको छानोको उपमा पनि दिने गरिएको छ । तिब्बत हिमालय पर्वत तथा कैयौँ नदीहरूको पनि एउटा स्रोत मानिन्छ । भौतिक विकास, तिब्बती उपचार पद्धति, भाषा विकासका साथै संस्कृति र परम्पराको प्रवद्र्धनका लागि यहाँ भइआएका कार्यहरू उदाहरणीय छन् ।