विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण

असार ११, २०७६

एटुजेट अनलाइन खबर

डोटी, असार ११ – डोटेली समाज काठमाडौँले डोटीको कलेना र खिरसैनका गरीब तथा विपन्न बालबालिकालाई छात्रवृत्ति रकम वितरण गरेको छ । जगत खड्का छात्रवृत्ति समाज काठमाडौँले डोटेली समाज काठमाडौँमार्फत उपलब्ध गराएको उक्त छात्रवृत्ति रकम डोटेली समाजका अध्यक्ष जगदीश केसीले कलेना र खिरसैनमा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रममा आज वितरण गर्नुभएको हो ।

यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत ११ जना गरीब विपन्न बालबालिकालाई जनही रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिए । दिपायल सिलगढी नगरपालिका–९ कलेनाका वडाध्यक्ष धर्मबहादुर साउदको अध्यक्षता तथा वडा सचिव लोकेन्द्र जोशीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख मञ्जु मलासी लगायतका वक्ताले आफ्ना भनाइ राख्नुभएको थियो ।

 

यसैगरी पूर्वीचौकी गाउँपालिकाको साजेन्द्रेश्वर माध्यमिक विद्यालय फुलौटमा आयोजना गरिएको कार्यक्रममा छ जना दृष्टिविहीन विद्यार्थीलाई जनही रु छ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको छ । छात्रवृत्तिका लागि छनोट गरिएका बालबालिकालाई कक्षा १२ सम्म नियमितरुपमा छात्रवृत्ति रकम उपलब्ध गराइने समाजका अध्यक्ष केसीले बताए ।