चाम्बासदेखि शिखर कटेरी मार्ग स्तरोन्नति

असार २४, २०७६

एटुजेट अनलाइन खबर

तनहुँ, असार २४ नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ । उक्त मार्ग डुम्रेबेँसीशहर खण्डमा रहेको वडा नं३ स्थित  चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ ।

 

वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति तीव्ररुपमा गरिएको नगरप्रमुख उदयराज गौलीले बताए । चाम्बास, दोरदोर, भकुन्थोक, रिट्ठाबोट र भानुजन्मस्थल मार्ग नामकरण गरिएको सो मार्गको करीब ९५ प्रतिशत पूरा भएको छ । यस मार्गलाई नगरपालिकाले नगर गौरवको कार्यक्रममा समेटेकाले स्थानीयवासी खुशी भएका छन् ।

 

सडक स्तरोन्नति हुँदा खुशी लागेको छ’, उक्त नगरपालिका४ स्थित भालडाँडा सामुदायिक घरवासका अध्यक्ष पदमबहादुर रानाले भने, ‘नगर गौरवको कार्यक्रममा पारिएकाले आगामी वर्ष कालोपत्र हुने आशा गाउँवासीले गरेका छन् ।

 

उक्त सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु ८० लाख विनियोजन गरेको सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए । चाम्बासदेखि शिखर कटेरीसम्म गरी यो मार्ग करीब १० किलोमिटर लामो छ ।