पन्ध्र हजार बिरुवा वितरण गर्ने

असार २४, २०७६

एटुजेट अनलाइन खबर

लमही, असार २४ दाङको तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष पन्ध्र हजार बिरुवा वितरण गर्ने भएको छ ।

 

उपमहानगरपालिकाको कृषि महाशाखाले यस वर्ष विभिन्न प्रजातिका १५ हजार बिरुवा किसानलाई वितरण गर्ने भएको हो । किसानहरुले गरेको मागका आधारमा बिरुवा खरीद गर्न लागिएको महाशाखाका कृषि अधिकृत कुलराज दहितले बताए । हामीले किसानको मागअनुसार बिरुवा खरीद गरेर बिक्री गर्ने योजना बनाएका छौँ’, उनले भने ।

 

दहितका अनुसार यस वर्ष सबैभन्दा बढी आँपका बिरुवा किसानले माग गरेका छन् । किसानलाई ५० प्रतिशत अनुदानमा आँपका बिरुवा वितरण गरिनेछ । बिरुवा रोप्न प्रोत्साहन गर्न आँपका बिरुवामा अनुदान दिन लागिएको अधिकृत दहितको भनाइ थियो । उपमहानगरपालिकाले जलवायु परिवर्तन अनुकूलनका लागि बिरुवा रोप्ने कामलाई प्रोत्साहन गर्दै आएको छ ।

 

उपमहानगरपालिकाले स्वच्छ र हराभरा उपमहानगर बनाउन क्लिन तुलसीपुर, ग्रीन तुलसीपुरअभियान चलाएको छ ।