स्थानीय तह गोरेटो मर्मतमा केन्द्रित

असार २४, २०७६

एटुजेट अनलाइन खबर

 

तारानाथ आचार्य

 

बलेवा, असार २४ बागलुङ नगरपालिका१४ को कैयादेखि जैमिनी नगरपालिका१ कुश्मीशेरासम्म केही वर्ष अघिसम्म ठूलो गोरेटो थियो । बागलुङको दक्षिणमा रहेका साविकको २० गाउँ विकास समितिका मानिसहरुको ओहोरदोहोर गर्ने मुख्य मार्ग नै त्यही हो । बीस वर्ष पहिले ट्र्याक खुलेको बागलुङकुश्मीशेराबरेङशान्तिपुर कृषि सडक निर्माणका क्रममा गोरेटो मासिएर अहिले गाडी गुड्छ । लामो दूरीमा यात्रा गर्नेलाई सडकले सहज बनाए पनि छोटो दूरीमा ओहोरदोहोर गर्नेले हिलो र धुलोको सास्ती बेहोर्नुपर्ने बानपा१२ अमलाचौरका विजय केसीले बताए ।

 

कैया कुश्मीशेरा जस्तै कयौं गोरेटाहरु नयाँ बनेका सडकका कारण मासिएका छन् । पुराना पैदलमार्ग नयाँ सडकले मासेका छन्,’ बागलुङ नगरपालिका९ का वडाध्यक्ष गणेश थापाले भने – ‘जन्ति मलामी हिँड्ने बाटो छैन, मेलापात गर्नै सास्ती छ ।लामो समय कच्ची सडक निर्माणमा ध्यानलगायका सरोकारवालाको अब भने गोरेटोप्रति विस्तारै ध्यान जान थालेको छ । बागलुङका अधिकाँश स्थानीय तहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई कार्यान्वयन गर्दै गोरेटो बाटामा ध्यान लगाएका हुन् ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आएको बजेट बागलुङको अधिकाँश स्थानीय तहले असार लागेपछि बाटो मर्मतमा लगाएका छन् । कतिपयले डोजरले भत्काएको कच्ची सडक मर्मतमा खर्चेका छन् भने कतिपयको ध्यान साना गोरेटोमा पुगेको छ । ताराखोला गाउँपालिकाले जेठ महीनामै काम थालेर शहीद मार्ग मर्मत र नाली निकाल्ने काममा युवालाई रोजगारी दियो । कम्तीमा २१ दिन रोजगारी दिएको दाबी गरेको ताराखोलाकै नक्कल गरेर अन्य पालिकाले पनि सडक सोहोर्ने काममा बजेट खर्च गरेका छन् ।

 

पहेँलो ज्याकेट लगाउने, हेलमेट लगाउने र गल गैंची बोकेर बाहिर निस्केकाहरुले ठूलो सडक मात्रै हैन साना गोरेटा पनि मर्मत गर्न थालेका छन् । तमानखोला गाउँपालिकाले असार १५ देखि रोजगार कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमले ६३१ जनालाई रोजगार बनाएको रोजगार संयोजक कृष्ण बास्तोलाले बताए । बडिगाड र काठेखोला गाउँपालिकाले पनि ग्रामीण सडक मर्मतको लागि बजेट र युवा परिचालन गरेका छन् । जैमिनी नगरपालिकाले पाएको ३७ लाख रुपैयाँमध्ये हरेक वडामा तीन लाखको दरले बाँडेर सबै वडामा पु¥याइएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । गोरेटो बाटो निर्माण र मोटरबाटो मर्मत जस्ता काम गरेर पैसा सक्याइएको छ । यसरी गरिएको कामबाट दीर्घकालीन विकास नभएको टिप्पणी भए पनि स्थानीय बासिन्दालाई आवतजावत गर्न आवश्यक गोरेटाहरुको निर्माणले सहज भएको पौडेलको दावी छ ।

 

जैमिनी नगरपालिका वडा नं १ का अध्यक्ष भूपेन्द्र थापाले भने ३ लाखमध्ये २ लाखले चाउकादेखि शिरवारी गोरेटो बाटो निर्माण र १ लाखले कुश्मीशेरा बजार नजीकैको गोरेटो मर्मत गरिने बताए ।

 

बागलुङ नगरपालिकाले भने रोजगारका लागि दामासाहीले रकम बाँडेको छ । उक्त रकमबाट वडा मार्फत कार्यक्रम तय भई काम भैरहेको रोजगार संयोजक सबिता शर्माले बताइन् । वडा नं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमका अनुसार पाएको चार लाखबाट रामतोलाबाट वडा कार्यालयसम्म आउने गोरेटो बाटो निर्माण गरिएको बताए । वडा नं २ ले पार्क व्यवस्थापनको काम गर्ने भएको छ । अधिकाँश वडाले गाउँमा मोटरबाटो जाँदा भत्केका गोरेटा बाटालाई मर्मत गर्ने अभियानमा बजेट खर्चेका छन् ।

 

बागलुङ नगरपालिकामा रोजगार कार्यक्रमका लागि ६० लाख बजेट विनियोजित थियो । गल्कोट नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम गोरेटो बाटोमा केन्द्रित गरेको छ । रु ३८ लाखको बजेटलाई वडा नं ६ को खेलमैदान र वडा नं १० को पाण्डवखानी लमुवा सडकमा लगानी गरिएको रोजगार संयोजक ममता बुढाले बताइन् । बाँकी सबै वडामा गोरेटो बाटो मर्मत र पदमार्ग निर्माणमा खचिएको छ । देशका धेरै स्थानमा रोजगार कार्यक्रममार्फत ज्याकेट लगाएर मकै गोडेको, झार उखेलेको जस्ता टीकाटिप्पणी भएपछि सबै स्थानीय तहमा हुने कामबारे चासो बढेको थियो । ढिलो गरी बजेट निकासा हुँदा, योजना बनाउन नसक्दा र आवश्यकताको आधारमा कार्यविधि बन्न नसक्दा बजेट दुरुपयोग भएको टिप्पणी भएको हो ।

 

समयमै योजना बनाउने, निकासा गर्ने र युवालाई रोजगार दिने प्रकारको काम बन्नु पथ्र्यो,’ पूर्व जनप्रतिनिधि केबी रानाले भने – ‘समुदायको आवश्यकता र युवा रोजगारको कार्यक्रम भन्दा बजेट सक्नका लागि काम गरियो ।स्थानीय तहहरुले अन्य शीर्षकबाट विनियोजन गरेको बजेटले भत्किएका सडक मर्मत गर्ने काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको उपभोक्ताले बताएका छन् ।

 

हरेक स्थानीय तहले सडक मर्मत गरियो भनेका स्थानमा यसअघि सडक निर्माणका लागि खर्च गरिएका ठाउँ हुन् । ती स्थानमा डोजरले बाटो भत्काएपछि सम्याउने काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट प्रयोग भएको हो । अधिकाँश स्थानमा भने भत्केका गोरेटा मर्मतमा पैसा लगाइएको छ ।

 

यस्तो बजेट उत्पादनमूलक क्षेत्रमा लगानी गरेको भए दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्न सकिने शर्माको तर्क छ । रोजगार संयोजक भएपछि पछिसम्म रोजगार दिन सकिने गरी लगानी होस् भन्ने आफूले चाहेको उनले बताइन् । चालु वर्ष ढिला गरी बजेट र कार्यक्रम आएकाले आगामी वर्ष समयमै बजेट र कार्यक्रम सञ्चालन गर्न जनप्रतिनिधिले दबाब सिर्जना गर्नुपर्ने उनीहरुले सुझाव दिए ।