प्रदेश ५ को राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

असोज १७, २०७७

एटुजेड अनलाइन खबर


बुटवल, असाेज १७ : प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका २ र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको हो ।

मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको जनाएको हो ।

सूचनामा राप्ती गाउँपालिकाका पूरै क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेचमा रोक लगाइएको जनाइएको छ ।

दाङको भालुवाङ प्रदेश ५ को राजधानी बनाउने निर्णय भएसँगै जग्गाको अभाव नहोस् तथा अस्वभाविक कारोबार नहोस् भनेर यस्तो निर्णय गरिएको बताइएको छ ।