मुक्त दासहरुबारे लेखिएको उपन्यास ‘मोक्षभूमि’ बजारमा

असोज २०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज २० : राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’बजारमा आएको छ । किताब पब्लिसर्सले प्रकाशन गरेको उपन्यास ‘मोक्षभूमि’को कथा संवत १२८० बाट सुरु हुन्छ ।

‘यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो । खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ । त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ ।

बहससँगै सुरु हुन्छ- मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा । ‘मोक्षभूमि’ त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन हो,’ किताब पब्लिसर्सले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशकले उपन्यासलाई ‘ती मान्छेहरुको सपनाको कथा जसको रगत र पसिनामाथि हाम्रो इतिहास उभिएको छ । तर, स्वयं ती मान्छेहरुको इतिहास भने गुमनाम छ’ भनेको छ । लेखक दाहाल भन्छन्, ‘त्यही गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ । तर यो ऐतिहासिक उपन्यास होइन । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो ।’

३७६ पृष्ठको उपन्यासमा देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकम मार्फत् ई-बुकका रुपमा विश्वभर उपलब्ध रहेको बताइएको छ ।