सुरक्षित सडकको लागि हस्ताक्षर अभियान

कार्तिक २२, २०७७

एटुजेड अनलाइन खबर


चरिकोट, कार्तिक २२ : सदरमुकाम चरिकोटमा सुरक्षित सडकको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । सडक व्यवस्थित र बालमैत्री, ज्येष्ठनागरिकमैत्री र अपाङ्गमैत्री नहुँदा सडक दुर्घटना हुने भएकाले हस्ताक्षर संकलन गरी सातदोबाटो चौकीमा राखिएको छ ।

देशव्यापीरुपमा सञ्चालन गरेको हस्ताक्षर अभियान सातदोबाटो चोकमा २ घण्टासम्म चलेको थियो । सुरक्षित सडक प्रयोग गर्न मेरो अधिकार हो भन्ने नाराकासाथ व्यानरमा विभिन्न सर्वसाधारणलगायतले हस्ताक्षर गरेका थिए ।

मेम्बर अफ एफआईए र सेफ स्कुल जोन नेपालको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो । जीवन र स्वास्थ्यमा कुनै खतराबिना सुरक्षित सडक प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । सबैको जिम्मेवारी लिने तथा सुरक्षित यात्राको लागि कार्य गर्ने नेतृत्व पाउनु हाम्रो अधिकार हो । हिंसा रहित सडक प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो भनि माग राखिएको थियो ।

दोलखामा यी माग पूरा गर्नको लागि भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको अभियन्ता इश्वर बल्लव उप्रेतीले जानकारी दिए ।