राष्ट्रिय कविता महोत्सवमा जे देखियो

मङि्सर ३०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, मंसिर ३० : कोराना महामारीले गर्दा २०७७ सालका धेरै साहित्यिक गतिविधि ठप्प भए । त्यसक्रममा सरकारी स्तरबाट हुने सबैभन्दा ठूलो कविता प्रतियोगिता ‘राष्ट्रिय कविता महोत्सव’ पनि प्रभावित बन्यो । असार ९ गते हुनुपर्ने महोत्सव, मंसिर २९ गते भयो ।

२०२२ सालदेखि सुरु भएको महोत्सवलाई नेपाली कविताको इतिहासमा महत्त्वपूर्ण कार्यक्रम मानिन्छ । जसमा देशैभरिबाट युवा कविहरूले भाग लिन पाउँछन् । युवा कविहरूलाई प्रोत्साहन गरी राष्ट्रिय जीवनमा सामेल गराउने मूल उद्देश्य रहेको महोत्सव प्रत्येक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा असार–९ गते आयोजना गरिन्छ ।

पछिल्ला केही वर्षदेखि विवादित बन्दै आएको कविता महोत्सवमा यसपाली युवा प्रतिस्पर्धीको संख्या भने बढेको पाइयो । अन्ततः ६ महिना समय लम्ब्याउँदै मंसिर २९ गते सोमबार, प्रज्ञा प्रतिष्ठानले आफ्नो सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा भव्य कार्यक्रम गरी कविता महोत्सव सम्पन्न गर्यो ।

के के कुरा राम्रा भए यसपटक ?

प्रत्येक वर्ष कविता महोत्सवमा हुने विजेता घोषणामाथि विवाद हुँदै आएकोमा यस वर्ष त्यस्तो उग्र विवाद भएन । लामो समयदेखि कविता लेख्दै आएका युवा कविहरू नै कविता महोत्सव २०७७ को विजेता बने ।

निर्णायकमाथि सधैं प्रश्न उठ्दै आएकोमा यसपटक प्रगतिशील खेमाका कवि स्नेह सायमी र पद्मकन्या क्याम्पसकी प्राध्यापक एवं छन्द–कवि प्रभा भट्टराई निर्णायक रहँदा उनीहरूमाथि कविहरूको सम्मानभाव रहेको देखियो ।

यस्तै महोत्सवका दिन प्रज्ञा प्रतिष्ठानले २०४६ सालपछिका कविता महोत्सवमा विजेता घोषित भएका कविताहरूको संगालो पुस्तक प्रकाशित गर्यो । त्यसले गर्दा नयाँ कविहरु तथा नेपाली कविताका पाठकलाई राष्ट्रिय महोत्सवका विजेता कवि र तिनका कविता एकै ठाउँमा पढ्न सहज भयो ।

यो वर्षदेखि राजधानीभन्दा बाहिरबाट आउने कविहरूलाई यातायात खर्च दिने व्यवस्था गरियो । अघिल्ला वर्षमा अतिथि कविहरुलाई मात्र भत्ता दिइने व्यवस्था गरिएकोमा यो वर्ष प्रतियोगी कवि जीवन आरोहीले यातायात खर्चमाथि आवाज उठाएपछि प्रज्ञाले यातायात खर्च दिन थालेको छ । कवि आरोहीले भने, ‘राष्ट्रको अंग भनिए पनि प्रज्ञा प्रतिष्ठानले प्रतियोगितामा भाग लिने कविहरूमाथि यातायात खर्च उपलब्ध नगरमएर विभेद सृजना गरेको छ ।’

यस्तै यसै वर्षदेखि भर्चुअल रुपमा कविता पाठ गर्ने व्यवस्था पनि मिलाइयो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा उपस्थित भएर कविता वाचन गर्न नसक्ने प्रतियोगी कविहरूलाई भर्चुअल वाचन गर्न दिइयो । उनीहरूले महोत्सव चलिरहँदा भर्चुअल रुपबाट लाइभ कविता वाचन गरे ।

यसले गर्दा वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि परदेशीएका कविहरूलाई पनि अपनत्व महसुस हुने प्रतियोगी कवि यात्रीप्रकाश पाण्डेले बताए । पाण्डे नेपाली सेनाको शान्ति सेना मिसन जाने तयारीमा भएकाले प्रज्ञाको सभाहलमा आएर कविता भन्न पाएनन् । तर, उनले भर्चुअल रुपमा कविता पढेर दर्शकको मन जिते ।

 

यो वर्षदेखि महोत्सवको दिन बिहानै कविता प्रतियोगिताको निर्णायकको नाम सार्वजनिक गरियो । यसले गर्दा प्रतियोगी कविहरू, दर्शकस्रोता निर्णायकसँगै बसेर खाजा खाने, छलफल गर्ने गरेको देखियो । ‘प्रतियोगी कवि तथा दर्शकसँग घुलमिल हुन पाउँदा थप अपनत्व महसुस भएको छ’, निर्णायक रहेका कवि स्नेह सायमीले बताए । उनले भने, ‘युवा कविहरूलाई म एकपटक विजेता नहुँदैमा हरेश नखान आग्रह गर्छु र हामी सँगसँगै सृजना बाटोमा हिँड्न सहज वातावरण बनाउँछु ।’

यस्तै कविता महोत्सवको पुरस्कार राशी पनि ३० हजारबाट ५० हजार रुपैयाँ पुर्याइएको छ । जसले गर्दा प्रतियोगीहरूको आकर्षण बढ्ने सम्भावना बढाएको छ ।

के के छुटे ?

प्रज्ञा प्रतिष्ठानले कोरोना महामारीलाई मध्यनजर गदैै भौतिक दुरी कायम गरेर कार्यक्रम गरेपनि कवि तथा दर्शकहरू एउटै कुनामा भेला भएर बसिरहेका थिए । महोत्सवको चियापान तथा विजेता घाषणपछि भएको भीडभडले धेरैजना शसंकित देखिएका थिए । कार्यम्रमा सहभागी कवि टहल दाहालले भने, ‘सामाजिक दुरी भनिए पनि यहाँको भीड देखेर मन डराएको छ ।’

यस्तै कविता वाचन गर्नका लागि अतिथि कवि छान्दा विगत दश वर्षदेखि नै दोहोरिरहेका कविहरू छानेको देखियो । कार्यक्रममा रहेका पूर्व–विजेता तथा प्रतिष्ठित कविहरूलाई वेवास्ता गर्दै अतिथि कविहरू छानेको देखियो । त्यसक्रममा कुनै अतिथि कविले एकभन्दा बढी कविता वाचन गरेर दर्शकको समय बर्बाद पारे । आयोजकले अतिथि कविलाई कुनै सूचना नदिएको देखियो । तर प्रतियोगी कविको हकमा उनीहरूले कविता समर्पण गर्नका लागि छोटो सम्बोभन गर्दा पनि थप कुरा बोल्नबाट बञ्चित गराइयो ।

यस्तै अघिल्लो महिना पद्मश्री पुरस्कारबाट विवादित बनेका मोदनाथ प्रश्रितलाई कविता महोत्सवको साक्षी बनाएको कुरामा महिला कविहरूले आपत्ति जनाएको पाइयो । प्रश्रीतले यौन दुव्र्यहार तथा यौन हिंसा गरेको आरोपमा पद्मश्री पुरस्कार २०७७ खारेज भएको थियो ।

प्रश्रितलाई मञ्चमा राख्ने कुरामा डिजाइनमा भएको प्रज्ञा प्रतिष्ठानका एक प्राज्ञ सदस्यले बताए । उनले भने, ‘नियोजित रुपमै प्रश्रितलाई मञ्चमा राखेर उनलाई थप स्थापित गर्ने काम नेतृत्वबाट भएको छ ।’

यस्तै प्रज्ञा प्रतिष्ठानको परिषद सदस्य रहेकी कवि लक्ष्मी मालीका श्रीमान् स्नेह सायमीलाई निर्णायक बनाइएको पाइयो । अघिल्ला महोत्सवमा निर्णायक भइसकेकी कवि माली प्रतिष्ठानको पदमा बहाल भएकै समयमा उनी निकट व्यक्तिहरूको कविता महोत्सवमा हस्तक्षेप देखियो । काव्य विभाग प्रमुख रहेका हेमनाथ पौडेल समेत उक्त निर्णायक समितिमा रहेकाले उनी निकट कम्युनिष्ट कविहरू नै निर्णायक तहमा रहेको पाइयो ।

महोत्सवको कविता वाचन कार्यक्रममा प्रतिष्ठानकै पूर्व उपकूलपति विष्णुविभु घिमिरेलाई राखिएको थियो । यसअघि उपकूलपति भइसकेका व्यक्ति नै प्रमुख अतिथि हुँदा महोत्सवको पारदर्शितामा प्रश्न उठेको बताउँछन् युवा कवि देवव्रत । उनका अनुसार काठमाडौंमा नै प्रतिष्ठित अन्य कवि रहँदारहँदै प्रतिष्ठानसँगै आबद्ध कविलाई अतिथि बनाउँदा हस्तक्षेपको सम्भावना रहन्छ ।

नेपाली कवितामा लोकप्रियता हासिल गरेका बैरागी काइँला, तुलसी दिवस, मञ्जुल, कणाद महर्षि, विमल निभाजस्ता कविहरूलाई महोत्सवमा छुटाइयो । अनलाइनखबर