कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

पुष १९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, पुस १९ : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या (२० देशका) ३ सय १५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।