वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

पुष १९, २०७७

एटुजेड अनलाइन खबर


मकवानपुर, पुस १९ : वाग्मती प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आइतबार आह्वान गरेका छन् ।

प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेशप्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेशप्रमुख प्रसाईंले आइतबार उक्त बैठक बोलाउन आह्वान गरेको प्रदेशप्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले बताए ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो ।

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कुल ११० प्रदेशसभाका सदस्य रहेका छन् । रासस