काठमाडौं भ्युटावर : पाँच वर्षमा १५ प्रतिशत पनि भएन काम

पुष २१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, पुस २१ : काठमाडौं भ्युटावरको निर्माण कछुवा गतिमा अगाडि बढिरहेको छ । निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा १५ प्रतिशत पनि काम हुन नसकेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले निकै तामझामसहित ०७२ कात्तिक २५ गते भ्युटावरको शिलान्यास गरेका थिए ।

काठमाडौं महानगरपालिका र निर्माण कम्पनीबीच पछिल्लोपटक भएको सम्झौताअनुसार ०७८ असारभित्र भ्युटावर निर्माण गरिसक्नुपर्ने छ । सो समयावधिभित्र व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर, अहिलेसम्म कामले गति लिन नसक्दा तोकिएको समयावधिमा निर्माण सम्पन्न हुनेमा आशंका छ । अहिले टावरको भुइँतलाको काम सम्पन्न भई माथिल्लो तलाको काम हुँदै छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल निर्माण कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेको बताउँछन् । ‘‘सम्झौताबमोजिम काम हुन सकेको छैन । निर्माण कम्पनीले पहिलेभन्दा अहिले  केहीरुपमा तीव्रता दिएको छ,’’ उनले भने, ‘‘तर सन्तोषजनकरुपमा अगाडि बढ्न भने सकेको छैन । महानगरको कार्यतालिकाअनुसार जति काम हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।’’

जलेश्वर स्वच्छन्द विकोई विल्डर्स जेभी प्रालिले टावर निर्माणको जिम्मा पाएको छ । पहिलोपटक ०७१ फागुन २२ गते सम्झौता भएको थियो । उतिखेरै निर्माण कम्पनीले ढिलो काम सुरु गरेको थियो । ०७३ साउन ३० देखि मात्रै काम सुरु गरेको हो ।

‘‘झन्डै दुई वर्ष काम ढिलो सुरु गरे पनि सबैलाई भ्युटावरको निर्माणले गति लिन्छजस्तो लागेको थियो । तर, अहिलेसम्म यो हालतमा भ्युटावरको दुर्गति देख्नपर्‍यो,’’ उनले भने ।

काठमाडौं महानगरपालिकाले भ्युटावर १२ तलासम्म बनाउने गरी नक्सा पारित गरेको छ । टावर कुल २३ रोपनी ५ आना क्षेत्रफलमा निर्माण भइरहेको छ । सबैभन्दा तल्लो तलामा बसपार्क हुनेछ । दोस्रो तलामा गाडी पार्किङ स्थल निर्माण गरिनेछ । माथिल्ला तलामा ४० प्रतिशत भूभागमा स्तम्भ रहनेछ । अरु भाग व्यापारिक प्रयोजनमा ल्याइनेछ ।

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन अहिलेसम्म टावरको आठ तलासम्मको काम सकिनुपर्ने थियो । ७५ काम प्रतिशत काम सम्पन्न भइसकेको हुनुपर्ने हो । तर, १५ प्रतिशत काम मात्रै भएको छ ।

जमिनमुनि बेसमेन्टको काम सम्पन्न गरी जमिनमाथि एक तलामा खम्बा राख्ने काम सुरु भएको छ ।

जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका प्रमुख मनोजकुमार भेटवाल भन्छन्, ‘‘अहिले निर्माण स्थलमा १०० भन्दा बढी मानिसले दैनिक काम गरिरहेका छन् । बिहानदेखि रातिसम्म काम भइरहन्छ । सबै कामदार निर्माणाधीन स्थलमै बस्ने हुन् ।’’

निर्माण कम्पनीका अनुसार टावर निर्माणको कुल लागत चार अर्ब ७० करोड रुपैयाँ अनुमान गरिएको छ । पहिला २९ तलाको टावर निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर, अहिले १२ तला मात्रै बनाउन लागिएको हो ।

०७२ सालको भूकम्पपछि सरकारले भवन निर्माणमा निश्चित मापदण्ड बनाएको छ । उक्त मापदण्ड अनुसार सहरी क्षेत्रमा निर्माण हुने टावर १२ तलाभन्दा माथि बनाउन रोक लगाएको छ  । निर्माण कम्पनीले सम्झौताअनुसार आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछ । त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने १२खरीमा उल्लेख छ ।