डेब्यु चलचित्रको सफलताले निम्त्याएको अवरोध

पुष २१, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, पुस २१ : अभिनेता, नर्तक, हास्यकलाकार र भोयस आर्टिस्टको रुपमा आफ्नो पहिचान बनाएका जावेद जाफरीले करियरको ३५ वर्षे यात्रा पूरा गरेका छन् ।  तीन दशकभन्दा लामो अहिलेसम्मको करियरमा उनले ‘सलाम नमस्ते’, ‘धमाल’ सिरिज, ‘सिंह इज किंग’, ‘३ इडियट्स’लगायतका हिट चलचित्रमा काम गरिसकेका छन् ।

उनले डान्स रियालिटी शो ‘बुगी वुगी’ पनि होस्ट गरिसकेका छन् । यसका साथै ‘टकेशीज कास्टल’, डिज्नीका थुप्रै हिन्दी कार्टुन चरित्रहरु ‘मिकी माउस’, ‘गुफी’, ‘डोन कारनेज’मा पनि उनले भोयस आर्टिस्टको रुपमा आवाज भरेका छन् ।

जावेदका अनुसार उनको पहिलो चलचित्रको सफलताका कारण उनले थुप्रै चुनौतीहरुको सामना गरे ।

खलनायकको भूमिका मेरो लागि सबैभन्दा ठूलो अवरोध बन्यो

जावेद जाफरीले प्रख्यात निर्माता–निर्देशक सुभाष घईको चलचित्र ‘मेरी जंग’बाट अभिनय जीवन सुरु गरेका थिए । पहिलो चलचित्रले उनले सफलता प्राप्त त गरे । तर, साथसाथै उनको करियरमा केही कठिनाइहरु पनि ल्याए । उनी यसरी बेलिविस्तार लगाउँछन्, “सुभाष घईजीले मलाई पहिलो ठूलो मौका दिए । पहिलो चलचित्रले सफलता प्राप्त त भयो । तर, केही अवरोधहरु पनि आए । सुभाष साहबले मलाई आफ्नो चलचित्रमा लन्च गरिरहनुभएको थियो भने चलचित्र जावेद अख्तर जीले लेख्नुभएको थियो । यो आफैँमा ठूलो कुरा थियो ।”

उनी अगाडि थप्छन्, “मेरी जंगमा मैले खलनायकको भूमिका निभाएको थिएँ । खलनायको भूमिकाबाट बलिउडमा डेब्यु गरेका कारण मलाई हिरोको रुपमा कसैले लिन चाहेनन् । यो नै मेरो लागि सबैभन्दा ठूलो अवरोध बन्यो ।”

सुरुका दिनका धेरै चलचित्रसँग म खुसी थिइनँ

जावेदका अनुसार उनले करियरको सुरुका दिनमा गरेका कामहरुप्रति उनी कत्ति पनि खुसी थिएनन् । पहिलो चलचत्रिबाट बनेको खलनायकको छविका कारण उनलाई सकारात्मक पात्रको अफर पाउन लामो समय लागेको थियो । जाफरी एक राम्रो डान्सर पनि हुन् । तर, त्यो समयमा हिरो मात्रै डान्स गर्छ भन्ने चलन थियो । जसका कारण जाफरी एक राम्रो नर्तक हुँदाहुँदै पनि खलनायक भएका कारण चलचित्रमा आफ्नो क्षमता देखाउनबाट वञ्चित थिए ।

“पहिलो चलचित्रपछि सकारात्मक भूमिका पाउन मैले धेरै कुर्नुप¥यो । म धेरै चलचित्रहरुमा काम गरिरहेको थिएँ । तर, खुसी थिइनँ । म केवल काम मात्रै गरिरहेको थिएँ,” जावेदले आफ्नो बाध्यता सुनाए ।

टीभीमा केही काम नपाएकाहरु मात्रै जान्छन्

इन्डस्ट्रीमा ३५ वर्ष बिताइसकेका जावेद भन्छन्, “मेरो जीवनमा ठूलो परिवर्तन टेलिभिजनले ल्यायो । जब टेलिभिजन सुरु भयो, मैले यसमा काम गर्ने निर्णय लिएँ । जसो मैले टीभीमा काम थालेँ, मानिसहरुले मलाई पागलको संज्ञा दिए । टीभीमा आउनु भनेको प्रोफेसनल सुसाइडको हो । जो मानिससँग केही काम हुँदैन, उनीहरु मात्रै टीभीमा जान्छन् ।”

त्यसो भन्ने व्यक्तिहरुलाई जावेदले टीभीको पनि आफ्नै दर्शक भएको जवाफ दिए । उनी भी च्यानलको एक कार्यक्रममार्फत् युवावर्गको सम्पर्कमा आउने मौका पाए । आज सामाजिक सञ्जालमा सुनिने हाय, हेलो, सलाम वालीजस्ता भाषाको सुरुआत उनले टीभीबाट सुरु गरेको जावेद दाबी गर्छन् ।

थुप्रै टीभी शो सञ्चालन गरेका जावेदलाई डान्सिङ रियालिटी शो बुगी वुगीले सफलताको शिखर चढाएको उनी विश्वास गर्छन् ।

जावेद भन्छन्, “मेरो सफलता र टीभीमा मेरो काम देखेर कैयौँ दिग्गज व्यक्तिहरु जस्तै शम्मी कपुर साहब, अमिताभ बच्चन साहब, धर्मेन्द्र जी, महमूद साहब, जया प्रदाले मेरो कामको प्रशंसा मात्रै गरेनन्, मलाई प्रोत्साहित पनि गरेका थिए ।”

वर्ष २००० ले मलाई डुब्नबाट बचायो

वर्ष सन् २००० जावेदका लागि एकदमै विशेष थियो । यस वर्ष एकपछि अर्को गर्दै उनले काम गरेका सुपरहिट चलचित्र आएका थिए । सुरुमा चलचित्र ‘जजंतरम ममंतरम’ रिलिज भयो । त्यसपछि नै अर्को चलचित्र ‘सलाम नमस्ते’ आयो । त्यसको केही समयपछि नै अर्को चलचित्र ‘धमाल’ रिलिज भयो ।

यी चलचित्रहरु र डान्सिङ रियालिटी शो बुगी वुगी’ले उनलाई अभिनयको समुद्रमा डुब्नबाट बचाएको उनको बझाइ छ ।

‘क्यारेक्टर एक्टर’ शब्द नै गलत छ

३५ वर्षको अभिनय करियरमा जावेदलाई केही कुरामा गुनासो छ भने त्यो हो, ‘क्यारेक्टर एक्टर’ शब्द ।

यो शब्दप्रतिको असन्तुष्टि जावेद यसरी सुनाउँछन्, “कुनै पनि चलचित्र गर्दा त्यसको पात्र वा भनौँ चरित्रमा रहनु कलाकारको काम नै हो । तर, हाम्रो फिल्म इन्डस्ट्रीमा एउटा टर्म छ, जुन निकै प्रयोग हुने गर्दछ । त्यो चर्चित टर्म (शब्द) भनेको ‘क्यारेक्टर एक्टर’ हो । यो भनेको के हो मलाई आजसम्म पनि थाहा भएन । मेरो हिसाबमा हरेक अभिनेता क्यारेक्टर हुन्छ, चाहे त्यो चलचित्रको हिरो होस् वा हिरोइन । त्यसैले तपाईं मुख्य कलाकार वा सहयोगी कलाकार भनेर बोलाउन सक्नुहुन्छ । तर, यो क्यारेक्टर एक्टर भनेर बोलाउनु नै गलत हो ।”

जावेद जाफरीले हालै रिलिज भएको डेविड धवनको चलचत्रि ‘कुली नम्बर १’ मा पनि महत्वपूर्ण भूमिका निभाएका छन् । जसमा वरुण धवन र सारा अली खानको मुख्य भूमिका रहेको छ ।

यसका साथै उनी रोहिट शेट्टीको चलचित्र ‘सूर्यवंशी’ र सैफ अली खानको ‘भूत पुलिस’मा पनि देखिँदै छन् ।
बीबीसी हिन्दीबाट ।