इरानले फेरि थाल्यो युरेनियम संवर्द्धन

पुष २२, २०७७

एटुजेड अनलाइन खबर


तेहरान, पुस २२ : इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरण संग्रह परमाणु संवर्द्धन कार्य पुन: सुरु गरेको छ । इरानको कदम सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको उल्लंघन हो ।

संवर्द्धित युरेनियम रिएक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिने भए पनि त्यसबाट परमाणु बम बनाउन सकिन्छ । अस्त्र बनाउन प्रयोग हुने युरेनियम भने कम्तीमा ९० प्रतिशत शुद्ध हुनुपर्छ । इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताए । राबेईका अनुसार राष्ट्रपति हसन रौहानीको आदेशपछि उक्त कार्य सुरु भएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानले ‘धम्कीपूर्ण रूपमा परमाणु अभियान’ सञ्चालन गरेको आरोप लगाएका छन् । तर आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको इरानको भनाइ छ । सन् २०१५ मा भएको सम्झौतामा इरान परमाणुसम्बन्धी धेरै कार्यक्रम स्थगन गर्न सहमत भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट अलग गर्दै इरानविरुद्ध आर्थिक प्रतिबन्धहरू लगाएका थिए । इरानले अमेरिकी कदमको भर्त्सना गर्दै प्रत्युत्तर दिने बताउँदै आएको थियो ।

इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानी संसद्ले नयाँ कानुन पारित गरेको थियो । गत नोभेम्बर अन्त्यमा भएको घटनाका लागि इजरायल जिम्मेवार भएको इरानी नेताहरूको भनाइ छ । नयाँ कानुनमा शान्तिपूर्ण उद्देश्यका लागि २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १ सय २० किलो भण्डारण गर्नुपर्नेछ ।

केही विज्ञहरूले इरानले अमेरिकामा जनवरी २० मा पदभार सम्हाल्ने नयाँ राष्ट्रपति जो बाइडेनलाई दबाब दिन उक्त कदम चालेको दाबी गरेका छन् । इरान पुरानै अवस्थामा फर्किए र थप सहमतिहरू गर्न तयार भए आफू पुन: उक्त सम्झौतामा सामेल हुन सक्ने बाइडेनले बताइसकेका छन् ।

युरोपेली संघका प्रवक्ताले इरान परमाणु प्रतिबद्धताबाट निकै टाढा गएको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले सैन्य परमाणु कार्यक्रम विकास गर्ने उद्देश्यले उक्त कदम चालेको दाबी गर्दै परमाणु हतियार बनाउन नदिने चेतावनी दिएका छन् ।

यसैबीच, इरानी रिभोलुसनरी गार्ड्सले रसायन बोकेको एक दक्षिण कोरियाली ध्वजावाहक ट्रयांकर नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । बारम्बार समुद्री पर्यावरण कानुन उल्लंघन गरेपछि आफूहरु ट्रयांकरलाई नियन्त्रणमा लिन बाध्य भएको इरानी अधिकारीको भनाइ छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले उक्त ट्रयांकरलाई तत्कालै छाड्न माग गरेको छ ।