भर्चुअलमा क्यारिकेचर

पुष २२, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, पुस २२ : कार्टुनिस्ट क्लब नेपाल र ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपाली क्यारिकेचर प्रदर्शनी–२०७७ सुरु भएको छ। प्रदर्शनीमा सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वको क्यारिकेचर गरिएको छ। पुस १७ देखि सुरु भएको प्रदर्शनी १० दिनसम्म भर्चुअल रूपमा सञ्चालन हुनेछ। कार्टुनिस्ट क्लबले हरेक वर्ष क्यारिकेचर प्रदर्शनी गर्दै आएको छ। कोरोना महामारीका कारण यो वर्ष प्रदर्शनी ढिला भएको हो।

क्यारिकेचर भनेको समाजमा बारम्बार सुनिने, देखिने पात्रहरूको कच्याककुचुक परेको अनुहार चित्रझैं लाग्छ। हेर्दै हाँसो उठ्ने, कोहीको नाक लामो भएको, घाँटी सानो बनाइएको वा गाला पुक्क उठेका चित्र समेटिन्छन्।

कार्टुनिस्ट तथा कलाकार केशवराज खनालले क्यारिकेचरलाई अनुहारको अतिरञ्जित स्वरूपका रूपमा बुझेका छन्। उनका अनुसार नेपालमा १३÷१४ सालदेखि कार्टुन बनाउन थालिएको हो। कार्टुनको सुरुआतसँगै क्यारिकेचर चित्र पनि बनाउन थालियो। अहिले कार्टुन हास्यव्यंग्य र सूचना प्रदान गर्ने सशक्त माध्यमका रूपमा प्रयोगमा छ। लामा–लामा शब्द र समाचारले भन्न नसकेको कुरा एउटा सानो कार्टुन चित्रले प्रस्ट पार्न सक्छ। हास्यव्यंग्य विधा भएकाले यसले मनोरञ्जनसँगै सूचना पनि प्रदान गर्छ। खनालका अनुसार मीठो, पिरो, चोटिलो, चट्नीजस्तै हो कार्टुन। थोरै खाएर पनि ट्वाक्क बनाउँछ।

कोरोनाको समयमा अन्य विधाजस्तै स्वतन्त्र रूपमा कार्टुन बनाउनेहरू मारमा परे। पत्रिकामा काम गर्नेहरू निरन्तर काममै थिए तर छलफल, अन्तरक्रिया, कार्यशाला सञ्चालन गर्न सकिएको थिएन। यसैले यो वर्षको क्यारिकेचर प्रदर्शनीका लागि कार्टुनिस्ट क्लबले दसंैअघि एक कार्यशाला आयोजना गरेको थियो जसमा कार्टुनिस्ट बासु क्षितिज, रवि मिश्र र अविन श्रेष्ठले डेमोस्ट्रेसन गरेका थिए। राजनीतिक व्यक्तित्वलाई छाडेर समाजमा प्रभाव पारेका व्यक्तिहरूको कार्टुन बनाउने र प्रदर्शन गर्ने निर्णय गरिएको थियो।

अनलाइन ग्यालरी नेपाल डटकममार्फत सञ्चालन गरिएको प्रदर्शनीमा समावेश कार्टुनिस्टबीच प्रतिस्पर्धा पनि गरिएको थियो जसमा सुबोध पोखरेलले बनाएको चित्र प्रथम भयो। यस्तै विश्व थापा द्वितीय र प्रकाश थापाले तृतीय स्थान हासिल गरे। विजेताले १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे।