जब बुवाआमा झगडा गर्छन्

पुष २२, २०७७

एटुजेड अनलाइन खबर


सन् २०१२ मा अमेरिकन जर्नल चाइल्ड डेभलोपमेन्टमा प्रकासित एक रिपोर्ट अनुसार सानै उमेरदेखि बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरुमा पछि मानसिक समस्या देखापर्ने गर्छ । उनीहरुमा डिप्रेसन, एन्जाइटी जस्ता समस्या निम्तने भय रहन्छ । त्यती मात्र होइन, बुवाआमाको झगडाको कारण उनीहरुमा केही नयाँ सिक्ने र बुझ्ने क्षमतामा पनि कमी आउँछ । उनीहरु इमोशनली डिस्टब्र्ड हुनपुग्छन् ।

बुवाआमाको झगडाले बच्चामा हीनताबोध पैदा गर्छ । बालबच्चाले आफ्ना आमाबुवालाई भरपर्दो र विश्वसनिय पात्र ठानेका हुन्छन् । जब दुबै जुध्न थाल्छन्, बच्चाले आफ्नो भरोसा गुमाउँछ । उनीहरु आफुलाई निरिह ठान्न पुग्छन् । यसले गर्दा उनीहरुको आत्मसम्मान पनि ठेस लाग्छ । उनीहरु हीनाबोधले ग्रस्त हुन पुग्छन् ।

व्यवहारिक जीवन चलाउने क्रममा दम्पतीबीच केही मतभेद रहन्छ । उनीहरु त्यही विषयमा भनाभन गर्छन् । त्यही भनाभनले मनमुटाव हुन्छ ।

दम्पतीबीच झगडा त हुन्छ नै । यद्यपि उनीहरुको झगडाको शैली कस्तो छ, त्यो चाहि दुबैको बौद्विक स्तर, समझदारी, भावनात्मक सम्बन्ध, परिपक्कता आदिमा निर्भर गर्छ । कतिपय दम्पती सानो निहुँमा यसरी झगडा गर्छन्, मानौं उनीहरु महाभारतको युद्धमा होमिएका हुन् । कतिपय दम्पती ठूलै निहुँमा पनि यसरी झगडा गर्छन्, जो कसैले सुँइको समेत पाउँदैनन् ।

दम्पतीबीचको झगडा पनि भिन्न भिन्नै हुन्छ ।

कतिपय दम्पतीमा आर्थिक, पारिवारिक आदि कारणले झगडा हुन्छ । यस्तो झगडा उनीहरु गुपचुप ढंगले गर्छन् । झगडाबाट दुबै एउटा निष्कर्षमा पनि पुग्छन् । अर्थात उनीहरुको झगडा भनेको समस्याको निकास पनि हो ।

कतिपय दम्पती शंका, उपशंका आदि कारणले झगडा हुन्छ । अत्यान्तै सामान्य निहुँमा पनि उनीहरु जोड–जोडले झगडा गर्छन् । चिच्याउँछन् । हातपात लगाउँछन् । उनीहरुको झगडाले कुनै समस्याको हल त गर्दैनन् नै अरु निहुँ पैदा गरिदिन्छ ।

दम्पतीहरु एकअर्कासँग हार्न चाहँदैनन् । आफुले भनेको वा बुझेको कुरा सही हो भन्ने ठान्छन् । हरेक कुराको निर्णय आफुलाई केन्द्रित गरेर गर्छन् । यसरी आपसी दम्भ र अहंकारले श्रीमान–श्रीमतीलाई झगडा गर्न उक्साउँछ । उनीहरु त आफ्नो रिस पोख्न वा आफ्नो जिद्दी नछाड्नका लागि झगडा गर्छन् । यस्तो अवस्थामा एकले अर्कालाई जति गाली गर्न र होच्याउन सक्यो, उत्ति सन्तुष्ट अनुभव गर्छन् । तर, उनीहरुको झगडाको साक्षी बनिरहेका बालबच्चाको हालत ?

आमाबुवाको झगडाले सबैभन्दा बढी असर गर्ने भनेको बालबच्चालाई हो । उनीहरुको लागि बुवा पनि उत्तिकै प्यारो हुन्छ, आमा पनि । दुबैबाट उनीहरुले समान माया र सुरक्षा अनुभव गरेका हुन्छन् । त्यसैले आमा होस् वा बुवा कसैले झगडा गरेको उनीहरुलाई स्विकार्य हुँदैन ।

जब आमाबुवा झगडा गर्न थाल्छन्, बच्चाहरुले त्यसको हल खोज्न सक्दैनन् । बुवाआमा दुबै आपसमा रिसाएपछि, झगडा गरेपनि उनीहरुले आफुलाई थप निरिह र असुरक्षित मान्न थाल्छन् । आमाबुवा झगडा गरिरहँदा उनीहरु के गर्ने, के नगर्ने भन्ने द्विविधाग्रस्त पीडाबाट गुज्रिरहेका हुन्छन् । यसले उनीहरुलाई मानसिक आघात पुग्ने गर्छ ।

आमाबुवा झगडा गर्दा बच्चाहरु त्यसको कारण र समाधान खोज्न सक्दैनन् । झगडा कसरी साम्य बनाउने भनेर सोच्न पनि सक्दैनन् । उनीहरुमा यसले बेग्लै किसिमको छटपटी पैदा गर्छ । उनीहरु अशान्त रहन्छन् । मन बेचैन हुन्छ । न पढ्न मन लाग्छ, न खान । न साथीभाईसँग खेल्न, न मनोरञ्जन गर्न नै । बुवाआमाको झगडाले उनीहरुलाई उदास तुल्याउँछ ।