स्याङ्जा, बलेवा र जुम्लामा कोभिडविरुद्धको खोप पुग्यो

माघ १२, २०७७

एटुजेड अनलाइन खबर


स्याङ्जा. : कोभिड–१९ विरुद्धको खोप यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप आज प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गरे ।

सरकारले जिल्लाका लागि पठाएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए ।

बलेवा : गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ पठाएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार बागलुङ, कास्की स्याङ्जा, पर्वत, म्याग्दीलगायत जिल्लामा आज नै खोप पुगेको छ । प्रजिअलाई बुझाइएको खोप स्वास्थ्य कार्यालयले सुरक्षित गरेका छन् ।

प्रदेश सरकारले बागलुङका लागि पठाएको एक हजार ९९६ मात्रा कोरोना भाइरसविरुद्धको खोप आज सहायक प्रजिअ उपेन्द्रराज पौडेलले स्वास्थ्य कार्यालय बागलुङलाई हस्तान्तरण गर्नुभयोे । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप सुरक्षितरुपमा ल्याएको थियो ।