५ वर्षअघि मृत्यु भएका व्यक्तिको नाम मतदाता सूचीमा

बैशाख ११, २०७९

एटुजेड अनलाइन खबर


ओखलढुंगा, वैशाख ११ : सुनकोशी गाउँपालिका– १ बलखु आम्बोटका रत्नबहादुर राईको २७ मंसिर २०७४ मा मृत्यु भएको थियो । उनको परिवारले वडा कार्यालयमा गएर २० पुस २०७४ मा मृत्यु दर्ता गर्‍यो । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उनको नाम कायम भएर आयो । सिनं ११२५ मतदाता नं. ०९६१३०७४ मा रत्नबहादुर राईको नाम निर्वाचन आयोगको सूचीमा छ ।

५ वर्ष अघि मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा रहेको व्यहोरा जानकारी गराउँदा पनि अद्यावधिक नभएको रत्नबहादुरका छोरा दुर्गा जेरोले बताए । केही समय अघि नामावली हेरेर त्यो अद्यावधिक गर्नु भनेर सूचना दिएको भएपनि वडा र निर्वाचन कार्यालयले सुधार नगरेको जेरोको भनाइ छ ।

यस्तै बलखुकै युद्धबहादुर राईको मृत्यु भएको तीन वर्ष जति भयो । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने व्यक्तिको सूचीमा उनको पनि नाम छ । सि.नं. १०९७ मतदाता नं. ०९६१३०९४ मा उनको नाम कायम छ ।

मृत्यु भएको व्यक्तिको मात्रै होइन, गाउँमै नभएका मानिसको नाम पनि मतदाता नामावलीमा कायम भएको भेटियो । मतदाता नामावलीको १५१४०३२६ नम्बरमा सुनकोशी गाउँपालिका– १ मा चन्द्रबहादुर गुरुङको नाम कायम भएर आएको छ ।

तर, चन्द्रबहादुर गुरुङ नाम गरेको मानिस उक्त वडामा कोही पनि छैन । स्थानीय हविन्द्र राईका भनाइमा उक्त नाम गरेको व्यक्ति करिब एक दशक अघि बलखु गाउँबाट सिद्धिचरण नगरपालिका– ४ रुम्जाटार बसाइ सरेका थिए । तर अहिलेसम्म पनि उनको नाम यहाँको मतदाता नामावलीमा कायमै छ ।