बर्दियामा कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा

बैशाख २०, २०७९

एटुजेड अनलाइन खबर


बर्दिया, वैशाख २० : लुम्बिनी प्रदेशको तराईको जिल्ला बर्दियामा थारू समुदायको बाहुल्य छ । बर्दिया माओवादी सशस्त्र युद्धबाट बढी प्रभावितमध्येको एउटा जिल्ला हो । एमालेका नेता वामदेव गौतमको गृहजिल्लासमेत रहेको बर्दियामा ६ वटा नगरपालिकासहित आठवटा स्थानीय तह छन् ।

बर्दियाका सबैजसो पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने गरेको छ । ०७४ सालको चुनावी परिणामका आधारमा माओवादी जिल्लाको सबैभन्दा ठूलो दल हो । माओवादीले तीन पालिका जितेको छ भने बाँकीमा पनि निकटतम प्रतिस्पर्धी बनेको छ । एमालेले पनि तीनवटै पालिका प्रमुख जितेको थियो भने कांग्रेस दुईवटामा सीमित भयो ।

माओवादीले राजापुर, बारबर्दिया र मधुवन नगरपालिकामा मेयर–उपमेयर नै जितेको थियो । यस्तै, उसले ठाकुरबाबाको उपमेयर पनि जित्यो । एमालेले बासगढी नगरपालिकाको मेयर–उपमेयर, ठाकुरबाबा नगरपालिकाको मेयर तथा बढैयाताल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । यस्तै, कांग्रेसले गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा प्रमुख–उपप्रमुख नै जितेको थियो ।

जिल्लामा कुनै पनि दलबीच तालमेल भएको छैन । मुख्य तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । यसले प्रतिस्पर्धा त्रिकोणीय हुने प्रस्ट भएको छ । फोरम लोकतान्त्रिकसँग मिलेपछि कांग्रेस पहिलेभन्दा बलियो भएको छ । पार्टी विभाजनका कारण एमाले केही कमजोर देखिन्छ । माओवादी पनि पहिलेको अवस्थामा छैन । त्यसैले बर्दियामा यसपटक कसले बाजी मार्छ भन्ने आकलन गर्न मुस्किल छ ।

मधुवन र बारबर्दियामा माओवादी यसपटक पनि जित्ने अवस्थामा देखिन्छ । राजापुरमा भने कांग्रेससँग तीव्र प्रतिस्पर्धा छ । लोकतान्त्रिकका मत थपिँदा कांग्रेस केही बलियो भएको छ । एमालेले जितेका तीनवटै पालिकामा माओवादी दोस्रो थियो । ठाकुरबाबाको मेयर कम मतान्तरले एमालेले जितेका कारण यसपटक उसलाई समस्या हुन सक्छ ।

किनकि विभाजनका कारण एमालेका मत काटिन सक्छन् । फोरम लोकतान्त्रिकसँग मिलेपछि गुलरियामा कांग्रेस झन् मजबुत भएको छ । गेरुवामा उसको माओवादीसँग प्रतिस्पर्धा छ । बासगढी र बढैयातालमा एमाले र माओवादीबीच प्रतिस्पर्धा देखिन्छ ।
समग्रमा बर्दियामा आगामी चुनावको नतिजामा धेरै ठूलो उलटफेर आउने देखिँदैन । एक–दुईवटा पालिकामा मात्रै परिणाम फेरिन सक्छ ।

आगामी चुनावका लागि जिल्लामा ३ लाख ११ हजार ४ सय १० मतदाता छन् । तीमध्ये १ लाख ५२ हजार ७ सय ४२ पुरुष र १ लाख ५८ हजार ६ सय ६२ महिला छन् । ६ जना अन्य छन् ।