१५ सय बढी शिक्षकद्वारा राजीनामा

बैशाख २९, २०७९

एटुजेड अनलाइन खबर


काठमाडाैं, वैशाख २९ : वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिन्दै जाँदा निर्वाचनको मुखैमा आएर देशभरिका एक हजार पाँच सय पाँच स्थायी शिक्षकले राजीनामा दिएका छन्। ४५ वर्षीय बसन्ती श्रेष्ठ वैशाख ११ गते स्थायी शिक्षक पदबाट राजीनामा दिएर चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख पदमा उम्मेदवारी दिएकी छिन्।

उनी मातातिर्थमा रहेको माहालक्ष्मी आधारभूत विद्यालयकी गणित विषयकी स्थायी शिक्षक थिइन्। तर उनलाई आफूले शिक्षण पेसाबाट आर्जन गरेको १२ वर्ष शिक्षक पेसाको अनुभवले आफू स्थायी बसोबास गर्दै आएको चन्द्रागिरी नगरपालिकालाई शिक्षित, उत्कृष्ट, समृद्ध, सुशी र खुशी नगरपालिका बनाउन उप्रमुखमै उम्मेदवारी दिन सोच आएर आफू उपमेयरको उम्मेदवारी दिएको सुनाइन्।

‘सधैं अर्काले बनाएको नीति नियम कति पालना गर्नु बरु आफै त्यो नीति निर्माण गर्ने तहमा बसेर नगरपालिकाको आवश्यक्ता पहिचान गरी नीति नियम बनाएर अघि बढ्ने लक्ष्य लिइ उम्मेदवारी दिए,’ एमाले तर्फकी उपमेयर उम्मेदवार श्रेष्ठले भनिन्, ‘म गणित विषयकी शिक्षक हुँ। अब नगरबासीको जीवनस्तर उकास्न प्रविधिसहितको शिक्षा उपलब्ध गराउने मेरो मुख्य लक्ष्य हो।’

यति मात्र होइन राजनितिमा युवा सहभागिताको उपस्थिति बलियो बनाउन पनि उनले आफूले शिक्षण पेसाबाट राजीनामा दिएको सुनाइन्। ४३ वर्षीय शिवकुमार खनाल नागाअर्जुन नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा उठ्नको लागि स्थायी शिक्षकबाट वैशाख पहिलो साता राजीनामा दिएर वडा अध्यक्ष पदको उम्मेदवारी दिएका छन्।

उनी नागार्जुन नगरपालिका वडा नम्बर ५ मा रहेको जनउद्धार माध्यमिक विद्यालयका स्थायी शिक्षक थिए। गणितका शिक्षक उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। ‘सधैं अरुले बनाएको शिक्षा, स्वास्थ्य, समाजिक सुरक्षा लगाएतका नीति पालना गरियो,’ २५ वर्ष शिक्षक पेसामा रमाएका खनालले भने ‘राजनीतिप्रति युवा र मतदातामा वितृष्णा छन्। राजनीति संगलीकरण गर्नको लागि मेरो उम्मेदवारी हो।’ उनले थपे ‘युवा र पाका पुस्ताबीचको मध्यमार्गी र जितको राजनिति हस्तानान्तरण गर्न पनि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएको हुँ।’

उनी जस्तै अर्का शिक्षक विकास महर्जनले पनि बलम्बुमावि बलम्बुबाट शिक्षक पदबाट राजीनामा दिएका छन्। उनी पनि नेपाली कांगे्रसको तर्फबाट चन्द्रागिरी नगरपालिकाको वडा ६ को वडा पदको लागि उम्मेदवार दिन राजीनमा दिएका थिए। तर गठबन्धनका कारण उनी आफू उम्मेदवारी फिर्ता लिएको सुनाए।

राष्ट्रिय शिक्षक किताब खानाका महानिर्देशक रामराज खकुरेलले विगतको भन्दा यस पटक राजीनामा दिने शिक्षकहरु ह्वात्तै बढेको बताए। राजीनामा दिनेहरुका विभिन्न कारण भए पनि मुख्य कारण राजनीतिमा सक्रिय हुनकैलागि राजीनामा दिने शिक्षकहरु बढी रहेको निर्देशक खकुरेलले जनाए।

निर्देशक खकुरेलले उपलब्ध गराएको तथ्यांक अनुसार ०७८ चैत्त मसान्तसम्म कुल एक हजार पाँच सय पाँचले राजीनामा दिएका छन्। जसमा फागुन महिनामा मात्र ३ सय, चैत्तमा एक सय ६६ र माघ महिनामा एक सय १४ शिक्षकले राजीनमा दिएका छन्। जबकी गत वर्ष एक वर्षभित्र अर्थात् ०७७ मा सात सय ९७ ले मात्र राजीनामा दिएका थिए।

०७७ साउन १ गतेदेखि ०७८ असार ३० गते भित्र कुल तीन हजार एक सय एकले पेन्सन पटा बनाएका थिए। जसमध्ये राजीनामा दिनेहरुको संख्या ६ सय १० ले राजीनामा दिएका थिए। भने ०७६ साउनदेखि ०७७ असार अन्तसम्म कुल २ हजार ६ सय २ शिक्षकहरुले पेन्सन पटा बनाएका थिए। जसमध्ये ९ सय ३२ ले राजीनामा दिएका थिए। सर्वोच्च तथा उच्च अदालतको आदेश र निर्वाचन आयोगको निर्देशनले राजनीतिमै लाग्ने शिक्षकहरुलाई पदबाट राजीनामा दिनुपर्ने नैतिक दबाव नै परेको छ।

यसैगरी राजनितिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार प्रदेश सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको वहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी पदमा वहाल रहेको व्यक्ति राजनितिक दलको सदस्य हुन नसक्ने व्यवस्था स्पष्ट छ।

‘केही स्थानीय तहले राम्रो सेवा सुविधा दिएकोले राजीनामा दिएको कुराकानीमा बताउनु भएको छ।’ निर्देशक खकुरेलले थपे ‘हाल तनहु, स्याँजा, भक्तपुरको सूर्यविनायक नगरपालिकालगायत थुप्रै स्थानीय तहले पुराना शिक्षकहरुलाई राम्रो आकर्षण सेवा सुविधा दिएकोले पनि राजीनामा दिनु हुने शिक्षकहरु हुनुहुन्छ।’

यति मात्र होइन हाल ९० प्रतिशत सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यम र प्रविधिमैत्री शिक्षा दिएका छन्। पुराना शिक्षकहरुले पढाउन सक्ने अवस्था छैन। ‘स्थानीय तहहरुले एक लाखदेखि ५ लाख रकमसम्म एक मुष्ट सेवासुविधा दिएका छन्। यस कारण पनि धेरै शिक्षकहरुले राजीनामा दिनु भएको देखिन्छ,’ निर्देशक खकुरेलले नागरिकसँग भने ‘चुनावको पूर्व तयारीको लागि पनि राजीनामा दिनेहरु देखिन्छन्।’

उनले थपे ‘शिक्षा विकास तथा मानव स्रोत केन्द्रले पनि स्थानीय तहहरुलाई दरबन्दी मिलान नगरेसम्म शिक्षकलाई तलब नदिन निर्देशन दिएको छ। दरबन्दी मिला गर्दा आफू घर अपायक पर्ने ठाउनमा जनुपर्ने भएकाले पनि शिक्षकहरुले राजीनामा दिनुभएको बुझियो।’

महानिर्देशक खकुरेलका अनुसार ०४८ सालमा स्वतः स्थायी भएका शिक्षकहरुको सेवा अवधि ३० वर्ष पुगेको अवस्थामा पेन्सनबापत तलबको ६५ प्रतिशत रकम पाउँछन्। घरै बसी आकर्षण सेवा सरकारबाट प्राप्त हुने भएकाले पनि शिक्षकहरु राजीनामा दिएको महानिर्देशक खकुरेलको अनुभव छ।