गोप्य राखेनन् भट्टराईले आफ्नो मत

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


गोरखा, वैशाख ३० : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ । तर भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेका हुन् ।