माओले यौनसम्बन्ध राखेका केटीहरुको कथा भन्ने उपन्यास

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


बैइजिङ, वैशाख ३० : ‘बाकसभित्र बाकस र पहेलीभित्र पहेलीजस्तो,’ एक अमेरिकी लेखकले पुरानो बेइजिङको ढाँचालाई यसरी व्याख्या गरेकी छन्। बेइजिङ सहरको मुटुमा छ फर्बिडेन सिटी। जहाँ बसेर सम्राटहरुले शासन गरेका थिए। सम्राटका औपचारिक कार्यक्रम गर्ने हलहरु सहरको मध्यभाग हुँदै उत्तरबाट दक्षिणतिर बग्ने ‘ड्रागनको नसा’सँगै अवस्थित छन्।

दरबारको पश्चिमतिर ‘सम्राटको सहर’कै हिस्साका रुपमा चोङनानहेइ बगैँचा र ताल छ, जहाँ सम्राट र उनको परिवार पर्खालले घेरिएको फर्बिडेन सिटीको साँघुरोपनबाट उम्किएर रमाउन जान सक्थे अथवा उखुम गर्मीबाट बच्न वृक्षको फेदमा गएर बस्न सक्थे।

१९४९ मा नयाँ नेता माओ चेतुङले चोङनानहेइलाई आफ्नो बासस्थान बनाए। सुरुमा बेइजिङको मुटुमा गएर आफू र आफ्नो सरकार स्थापना गर्ने कुरामा माओलाई शंका थियो। तर, केही समय वेस्टर्न हिलमा बसेपछि उनलाई चोङनानहेइको आँगनमा सर्न अरुले मनाए। १९६६ मा उनले आफ्नो बासस्थान परिसरको भित्रपट्टि रहेको स्विमिङ पुलनेर सारे।

चोङनानहेइ चिनियाँ राजनीतिको ‘ब्ल्याक बक्स’ बन्यो। कम्युनिस्ट पार्टीको सबैभन्दा उपल्लो तह यहीँ अग्ला पर्खालको घेराभित्र बस्थ्यो र जनताको नजरभन्दा टाढा रहेर काम गर्थ्यो।

चोङनानहेइको जीवन कस्तो थियो, त्यसका एकदमै कम विवरण प्राप्त छन्। १९९४ मा माओका निजी चिकित्सक ली चिसुइको संस्मरण प्रकाशित भयो। जसमा पार्टीका शीर्षस्थ व्यक्तित्वहरुको जीवनशैलीबारे विस्तृतमा लेखिएको थियो। यद्यपि, ती विवरणहरु सही नभएको भन्दै प्रश्न पनि उठे। पुस्तकको सबैभन्दा सनसनीपूर्ण अंश थियो– माओको यौनजीवनको वर्णन। खासगरी, चोङनानहेइमा नेताहरु सहभागी हुने नृत्यबाट माओ कसरी केटीहरु छान्न मन पराउँथे र तिनलाई विशेष रुपमा तयार गरिएको डबल बेड भएको कोठामा कसरी पुर्याइन्थ्यो भन्ने वर्णन।

लीको संस्मरणमा माओले नृत्यमण्डलीमा यौनरोग सारेको दाबी गरिएको छ। डाक्टरले त्यस्तो गतिविधि नगर्न र सफासुग्घर रहन सल्लाह दिँदा पनि माओले नमानेको लीको भनाइ छ।

‘म आफूलाई आफ्ना महिलाहरुको शरीरभित्र सफा गर्ने गर्छु,’ माओको भनाइ भन्दै लीले लेखेका छन्।

हालै प्रकाशित भएको भेनेसा हुवाको उपन्यास फर्बिडेन सिटीमा लेखकले माओको मनोरञ्जनका लागि चोङनानहेइ पुर्याइएका शोषित तथा आवाजविहीन केटीहरुलाई आवाज दिने कोसिस गरेकी छन्। उपन्यासकी काल्पनिक पात्र मेइ सियाङको बयानका रुपमा प्रस्तुत कथा उनी १६ वर्ष नपुग्दै सुरु भएको छ।

कथाअनुसार १९६५ मा चीन सांस्कृतिक क्रान्तिको संघारमा छ। मेइ चोङनानहेइमा क्रान्तिकारी नृत्य प्रदर्शन गर्ने समूहमा छनोट हुन्छे। केही समयपछि नै उसलाई अध्यक्षले रोज्छ। त्यसपछि उसलाई नृत्यस्थलको छेउमा रहेको कोठाभित्र लगिन्छ। उपन्यासमा कुनै पनि नेतालाई नामले सम्बोधन गरिएको छैन।

मेइ अध्यक्षको विश्वासपात्र बन्छे। तर, अध्यक्षकी पत्नी (चियाङ चिङ) ले मेइमाथि शंका गर्छे। नृत्यमण्डलीका अरु केटीहरु उसलाई मन पराउँदैनन्।

मेइको कथा १९७६ मा सान फ्रान्सिस्कोमा बसेर भनिएको छ। जब पात्रको व्यक्तिगत चर्चा सुरु हुन्छ, तब कथा सबैभन्दा शक्तिशाली लाग्छ। ऊ गाउँमा छाडिएको आफ्नो परिवारप्रति चिन्तित हुन्छे, पहिले नृत्यमण्डलीमा आफ्नो हैसियतलाई लिएर र पछि अध्यक्षसँगको सम्बन्धलाई लिएर ऊ असुरक्षित महसुस गर्छे। यस्ता खण्डहरुले पाठकलाई बढी प्रभावित तुल्याउँछन्।

७२ वर्षीय अध्यक्ष र किशोरी मेइबीचको यौनसम्बन्धको विवरण पनि आश्चर्यजनक रुपमा खुलस्त छ। हुवा यस्तो दृश्यलाई व्यञ्जनायुक्त भाषा वा छोटकरीमा भन्दिनन्। जसका कारण पात्रहरुको यथार्थ घृणाजनक बन्न पुग्छ।

त्यो युगको घुमाउरो र जटिल राजनीतिलाई पाठकसामु प्रस्तुत गर्न हुवाले व्याख्यात्मक अंशहरुको सहारा लिएकी छन्। संवाद वा मनोवादको रुपमा यी अंशहरु कथामाथि हावी हुन्छन् र पाठकलाई मेइको व्यक्तिगत अनुभवको भावुक संसारबाट बाहिर तान्छन्।

लेखकको भनाइमा हुवा लेख्छिन्– ‘जहाँ आधिकारिक अभिलेख टुंगिन्छ, त्यहाँबाट कथा मौलाउँछ।’ व्यक्तिगत र राजनीतिक पक्षलाई एकैठाउँ मिसाउँदाको चुनौतीका बाबजुद लेखकको भनाइमा धेरै हदसम्म उपन्यास सफल दरिन्छ। जसले पाठकलाई शक्तिको भ्रष्टीकरण कसरी हुन्छ भनेर देखाउने अनुभवहरुमाथि विचार गर्न बाध्य तुल्याउँछ।

(साउथ चाइना मर्निङ पोस्टबाट)