युरोपेली युनियनले युक्रेनलाई थप ५० करोड युरोको सैनिक सहायता दिने

बैशाख ३०, २०७९

एटुजेड अनलाइन खबर


युरोप, वैशाख ३० : युरोपेली युनियन ईयूले युक्रेनलाई थप ५० करोड युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहायता घोषणा गरेका हुन् ।

जर्मनीमा जारी विश्वका ७ विकसित अर्थतन्त्रहरुको समूह जी ७ का विदेशमन्त्रीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा बोरेलले नयाँ सैन्य सहायतामा ट्यांक तथा तोपखाना प्रणालीजस्ता भारी हातहतियार समेत समावेश रहेको बताए ।

पछिल्लो घोषणासँगै ईयूले युक्रेनलाई उपलब्ध गराएको सैनिक सहायता २ अर्ब युरो पुगेको बोरेलको भनाइ छ ।

यसअघि युरोपेली युनियनले आफ्ना सदस्य मुलुकहरुलाई रुसी तेलमाथि प्रतिबन्धको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकार गर्न हंगेरी र स्लोभाकियाजस्ता रुसी उर्जामा निर्भर मुलुकहरुले आनाकानी गरिरहेको बताइन्छ ।

यद्यपि आगामी केही दिनभित्र प्रस्तावित प्रतिबन्धका विषयमा सहमति जुट्ने अपेक्षा रहेको बोरेलको भनाइ छ ।