कलिलो उमेरमै बच्चालाई विद्यालय पठाउन हतारिन्छन् अभिभावक

जेठ ०८, २०७९

एटुजेड अनलाइन खबर


आमाको दूध छुटाउन पाएको हुँदैन, अभिभावकहरु आफ्ना बच्चालाई विद्यालय भर्ना गरिदिने हतारोमा हुन्छन् । काखे बच्चालाई कक्षाकोठामा पुर्‍याइन्छ, अक्षर घोकाइन्छ र गृहकार्य गराइन्छ । पुस्तकको गह्रौं झोला थमाइन्छ । किन ?

आमाबुवा चाहन्छन्, ‘सानै उमेरमा विद्यालय भर्ना गरिदिए जान्नेबुझ्ने हुन्छन् । धेरै पढ्छन् ।’ तर अभिभावकको यस्तो अपेक्षासँग बच्चाको शारीरिक र मानसिक अवस्थाको तालमेल मिल्छ ?

विश्वभरको अभ्यास र अध्ययनले भन्छ, ‘६ वर्षभन्दा कम उमेरमा कुनै पनि बालबच्चा पठनपाठनका लागि तयार भएका हुँदैनन् ।’ चाहे फिनल्याण्डको शिक्षा प्रणालीलाई हेरौं वा नर्वे र जापानको नै ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार शिक्षा प्रणालीका लागि विश्वकै आदर्श मानिने फिनल्याण्डमा कुनै पनि बच्चा ७ वर्षको उमेरपछि मात्र विद्यालयमा भर्ना हुन पाउँछन् । त्यहाँको ७ देखि १६ वर्षको उमेरलाई ‘विद्यालय शिक्षा’ अन्तर्गत राखिन्छ । ९ वर्षको उमेरपछि मात्र अनिवार्य शिक्षा दिइन्छ ।

नर्वेमा ७ वर्षको उमेरपछि मात्र बच्चालाई पठनपाठन सुरु गरिन्छ । नर्वेमा एक वर्षबाट नै बच्चालाई विद्यालय पठाइन्छ । एकल परिवारमा आमाबुवा दुवै जना काममा व्यस्त हुने भएका कारण बच्चालाई हेरचाह गर्ने समय नभएको कारण एक वर्षमा नै विद्यालय पठाइँदो रहेछ । एक वर्षमा नै विद्यालय पठाइए पनि पढाउन सुरु भने ७ वर्ष लागेपछि मात्र सुरु गर्ने वातावरण भएको शिक्षाविद् डा. कोइराला बताउँछन् ।

पूर्वीय संस्कारले समेत कुन उमेरदेखि बच्चा शिक्षादीक्षाका लागि योग्य हुन्छन् भनी उल्लेख गरेको छ । पूर्वीय दर्शनमा १६ संस्कार उल्लेख छ, जसमध्ये उपनयन संस्कार एक हो । उपनयन संस्कार ‘विद्यारम्भ’को सुरुवात मानिन्छ । संस्कार अनुसार ८ वर्षको उमेरमा उपनयन संस्कार गरिन्छ ।

जब बच्चा ज्ञानआर्जनको लागि योग्य हुन्छन्, उपनयन संस्कार गरिन्छ । तर हाम्रो विद्यालय शिक्षाको वर्तमान परिदृश्य फरक छ । अढाइ-तीन वर्षको उमेरमै बच्चालाई विद्यालय पठाउने होडमा हुन्छन् अभिभावकहरु । किन ?

यसमा कतिपय बाध्यता र कतिपय लहडले काम गरेको पाइन्छ । कामकाजी दम्पती जसलाई आफ्नो बच्चा हेर्ने फुर्सद हुँदैन, उनीहरुले बच्चालाई विद्यालयमा भर्ना गरिदिन्छन् । कतिपयले अरुको देखासिकीमा बच्चालाई विद्यालय पठाउन हतार गर्छन् । वर्तमान सामाजिक व्यवस्था, विद्यमान शिक्षा पद्धति, शिक्षाप्रतिको कमसल बुझाइ, पारिवारिक दबाबको कारण धेरैजसो अभिभावकले बच्चालाई सानै उमेरमा विद्यालय हाजिर गराउँछन् ।

शिक्षाविद् कोइरालाका अनुसार पूर्खाहरुले ६ वर्षपछि मात्र बच्चालाई विद्यालय पठाउनुपर्छ भनी सांकेतिक रुपमा ‘सरस्वती पूजा’ गर्ने विधान बनाएका हुन् । यद्यपि हाम्रो समाजले यसको मर्मलाई केलाएका छैनन् । ‘विद्यालयको चिन्तन पनि ६ वर्ष पूरा नभई पढाउन योग्य नहुने भन्ने छ,’ शिक्षाविद् कोइराला भन्छन्, ‘यसअघि उनीहरुलाई बच्चाकै रुपमा खान, खेल्न र रमाउन दिनुपर्छ ।’

त्यसो त सानो उमेरमा विद्यालय पठाउनै नहुने भन्ने होइन । एक वर्षमा नै विद्यालय पठाइए पनि पढाउन सुरु भने सात वर्ष लागेपछि मात्र सुरु गर्नुपर्ने शिक्षाविद् कोइराला बताउँछन् ।

‘अहिले सहरी क्षेत्रका अभिभावकहरू व्यस्त छन् । घरमै बच्चाको रेखदेख नहुने हुँदा विद्यालय भर्ना गरिदिन्छन्,’ कोइराला भन्छन्, ‘यस किसिमको बाध्यता हुँदा डे केयर सेन्टर, मनोरञ्जन सेन्टरमा राख्न सकिन्छ ।’ यद्यपि नेपालमा डे केयर सेन्टर नाम मात्रको छ ।

फिनल्याण्डमै पनि डे केयर सेन्टरको व्यवस्था छ । तर त्यहाँ पढाइलेखाइ पटक्कै हुँदैन । बरु खेल्ने, रमाउने, नयाँ साथी बनाउने कुरामा मात्र प्रेरित गरिएको हुन्छ ।

शिक्षाविद् सुसन आचार्य भन्छिन्, ‘विद्यालय भनेको एक कक्षाबाट सुरु हुन्छ । संसारको धेरै ठाउँमा विद्यालय पठाउने उमेर ५ वर्ष पूरा भएपछि हो । त्यो भन्दा अगाडि ‘डे केयर’ पठाउने चलन अन्य देशहरूमा पनि छ ।’

उनका अनुसार नेपालमा पनि ५ वर्षमुनिका बालबालिकालाई बालविकास पठाइन्छ । तर घरमा नै अभिभावकले बच्चाको हेरचाह गर्न सक्नेहरूले भने ५ वर्षपछि पठाउँदा पनि हुन्छ ।

गाउँघर, जहाँ संयुक्त परिवार छ । त्यस्तो परिवारमा भने बालबालिकालाई छिटो विद्यालय पठाउनुपर्ने आवश्यकता हुँदैन । घरमा हजुरबुवा र हजुरआमासँग समय बिताएर खेलेर उसले अरु जीवनोपयोगी कुराहरु सिक्ने शिक्षाविद्हरुको राय छ ।

नेपालको विद्यालयमा भने प्लेग्रुप, नर्सरी, यूकेजी, एलकेजी जस्ता श्रेणीहरु राखिएका छन् । ५ वर्षको उमेरमा एक कक्षा भर्ना हुँदासम्म बच्चाले अरु चारवटा श्रेणी उत्तीर्ण गरिसकेको हुनुपर्ने अवस्था छ । त्यसैले बच्चालाई चाँडै शिक्षादीक्षा दिलाउने अभिभावकको मनोविज्ञान अनुसार उमेर नपुग्दै विद्यालय पठाउने हतारो र होड सुरु हुन्छ ।

‘फलानोको बच्चा दुई कक्षामा पुगिसक्यो, मेरो कहिले पुग्ने भनेर अभिभावकहरु आफ्नो बच्चा विद्यालय पुराउन हतार गर्छन्,’ शिक्षाविद् कोइराला भन्छन्, ‘विद्यालय शिक्षाका लागि कुन उमेर सही हो भन्ने कुराको ज्ञान अभिभावकमा छैन ।’

क्लिनिकल चिकित्सकको रुपमा लामो समय जापान बसेर फर्किएका डा. विजय ज्ञवालीका अनुसार ६ वर्षभन्दा कम उमेरका बच्चालाई कलम, कापी दिइँदैन । बरु उनीहरुलाई स्वच्छन्द खेल्न र हुर्कन दिइन्छ ।

बच्चालाई बच्चाजस्तै हुन दिनुपर्छ

बच्चालाई कक्षाकोठामा राखेर पाठ घोकाउने भन्दा पनि उपयुक्त उमेर नभएसम्म स्वतन्त्र रुपले खेल्न, रमाउन दिनुपर्ने मनोविद्हरु बताउँछन् । बच्चालाई बच्चाकै रुपमा रहन दिनुपर्ने भनेर नै विद्यालय शिक्षाका लागि एउटा निश्चित उमेर तय गरिएको हो ।

घर नै पहिलो पाठशाला र आमाबुवा नै पहिलो शिक्षक भन्ने गरिन्छ । सानो उमेरमा उनीहरुलाई आमा र बुवाको  सामीप्य अनि स्पर्श बढी जरुरी हुन्छ । घरको वातावरणमा खेल्दै, रमाउँदै हुर्कंदा बच्चामा रचनात्मक क्षमता विकास हुन्छ । उनीहरुको रुचि के हो ? क्षमता कस्तो हो स्पष्ट हुँदै जान्छ ।

‘बच्चाको बालापनलाई जोगाउनुपर्छ,’ शिक्षाविद् कोइराला भन्छन्, ‘उदाहरणको लागि काठमाडौंमा ज्यापू समुदायको चिन्तनलाई हेर्न सकिन्छ । उनीहरूले बच्चालाई खेतमा सँगै लिएर जान्छन् र काम गर्छन् । यसरी उनीहरूको खेतमा खेल्ने भए, कीरा, माटोसँग खेल्ने भए यसरी उनीहरूको बालापन खोसिंदैन र उनीहरूको व्यक्तित्व पनि विकास हुन्छ ।’

खेल्ने र रमाउने उमेर

६ वर्षभन्दा कम उमेर पुस्तक घोक्ने, अक्षर लेख्ने भन्दा पनि खेल्ने र रमाउने उमेर हो । यदि विद्यालयमा स्वतन्त्र ढंगले खेल्ने, रमाउने व्यवस्था छ भने जुनसुकै उमेरमा पनि बच्चालाई विद्यालय पठाउन सकिने बाल मनोरोग विशेषज्ञ डा. अरुण कुँवर बताउँछन् ।

‘बच्चालाई छिटो विद्यालय पठायो त्यति छिटो उसको  सामाजिक व्यवहार, अरुसँग घुलमिल हुने बानीको विकास हुन्छ,’ उनी भन्छन्, ‘यो उमेरमा विद्यालय पठाउँदा उनीहरूको बौद्धिक एवं रचनात्मक क्षमता विकासमा कुनै असर पर्दैन ।’

उनका अनुसार बच्चालाई विद्यालय पठाउने भनेको पढाइलेखाइको लागि हो भन्ने कुरामा धेरैको ध्यान केन्द्रित भयो । उमेर अनुसार उनीहरू के गर्न सक्छन् त्यसमा केन्द्रित हुनु जरुरी छ । ‘तीन वर्षको बच्चाले पढेर भन्दा पनि खेलेर धेरै कुरा सिक्छ,’ डा. कुँवर भन्छन्, ‘त्यसैले विद्यालयले जबरजस्ती एकै ठाउँमा राखेर पढाउनु गलत हो ।’

विद्यालयमा पनि उनीहरुलाई स्वतन्त्र खेल्न, रमाउन दिइन्छ भने त्यसले उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताइन्छ । शिक्षाविद् कोइराला सुनाउँछन्, ‘अमेरिकाको एउटा विद्यालयमा बच्चालाई पढाएको देखें, त्यहाँ बच्चालाई आफ्नो रुचि अनुसार खेल्दै पढाउने वातावरण सिर्जना गरिने रहेछ । कसैले शिक्षकलाई चित्र बनाएर देखाउँदै थिए भने कोही मैले रेडियो बिगारे भनेर सुनाउँदै थिए ।’

बच्चालाई कुन उमेरमा विद्यालय पठाउने भन्दा पनि कुन उमेरमा के सिकाउने भन्ने कुरा बढी महत्वपूर्ण भएको उनीहरुको भनाइ छ ।