रौतहटमा बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

भदौ ०२, २०७९

एटुजेड अनलाइन खबर


रौतहट, भदौ २ : रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०२~००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही(२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए ।