रुकुम पश्चिममा चट्याङ्ग लागेर श्रीमानकाे ज्यान गयो, श्रीमती घाइते

माघ २४, २०७७

एटुजेड अनलाइन खबर


रुकुम पश्चिम, माघ २४ : रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो ।

चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिए । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ ।