१ कक्षा पढ्ने बालिका बलात्कार गरेको आरोपमा ६ कक्षामा पढ्ने बालक पक्राउ

माघ २६, २०७७

एटुजेड अनलाइन खबर


गोरखा, माघ २६ : कक्षा १ मा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय बालक पक्राउ परेका छन् । गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनले बताए । माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

‘घटनाबारे बालिकाले आमालाई भनिछन्, भोलिपल्ट एसेम्ब्लीमा यो केटा हो भनेर देखाएपछि किशोरलाई पक्राउ गरेका हौं,’ उनले भने । गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।