महाकाली नदीको टापुमा फसकेका १६ जनाको उद्धार

माघ २८, २०७७

एटुजेड अनलाइन खबर


कञ्चनपुर, माघ २८ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भुजेला घाटस्थित टापुमा फसेका १६ जनाको सकुशल उद्धार गरिएको छ । महाकाली नदीको एक्कासी पानीको बहाव बढेपछि टापुमा फसेकाको उद्धार गरिएको छ ।

नदीको बिच भागको टापुमा शव जलाउन गएर फसकेका १६ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि नदीमा पानीको बहाव एक्कासी बढेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको हो ।