लुम्बिनी प्रदेश स्थापना दिवस तीन दिन मनाइँदै

माघ ३०, २०७७

एटुजेड अनलाइन खबर


बुटवल, माघ ३० : लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीमा मनाउने प्रदेशको तेस्रो स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव रविलाल पन्थले फागुन २, ३ र ४ गते आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा हुने मूल समारोहको कार्यक्रम देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुनेछ ।

सो कार्यक्रममा प्रदेश सरकारले यसअघि घोषणा गरेका ५८ वटा पदक वितरण गरिनेछ । प्रदेशको तेस्रो स्थापना दिवस देउखुरीमा मनाउन लागिएको हो । देउखुरीमा मुख्यमन्त्रीकै प्रस्तावमा फागुन २ देखि ४ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जनाइएको छ ।

स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ ।

मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले तीन दिन देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता हुने बताइएको छ ।