नेपाली दूतावास यूएईका अधिकांश कर्मचारीमा कोरोना संक्रमण

फागुन ०१, २०७७

एटुजेड अनलाइन खबर


दोहा, फागुन १ : संयुक्त अरब इमिरेट्स ९यूएई०स्थित नेपाली दूतावासका अधिकांश कर्मचारी कोरोना सङ्क्रमित भएका छन् ।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएको जनाएको छ ।

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूतावासले राहदानीका लागि आवेदन दिँदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन अनुरोध गरेको छ ।

सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नवीकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।

आगामी फागुन २ गते लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनसमेत अनुरोध गरेको छ ।

राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न समेत दूतावासले भनेको छ ।

कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गते भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरिएको दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।