के महिलाको प्रजनन् क्षमतामा कोरोनाको खोपले असर गर्छ?

फागुन ०१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १ : कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा कुनै पनि प्रभाव नपर्ने विज्ञहरुले बताएका छन्।

सामाजिक सञ्जालमा खोप लगाउँदा प्रजनन् क्षमतामा असर गर्ने भन्दै ‘अफवाह’ फैलिरहेका बेला विज्ञले त्यसको पछि नलाग्न आग्रह गरेका हुन्।

खोपबाट प्रजनन् क्षमतामा कुनै नकारात्मक असर गर्ने प्रमाण नरहेको विज्ञको भनाई छ । फाइजरको खोप लगाउँदा बाँझोपन हुन सक्ने दाबीसहितको सन्देश सामाजिक सञ्जालमा पोस्ट भएको थियो।

तर किंग्स कलेज लण्डनकी प्राध्यापक लुसी चापेलले त्यस्तो कुनै पनि प्रमाण नरहेको र जैविक रुपमा महिलाको प्रजनन् क्षमतामा खोपले असर गर्ने सम्भावना नरहेको बताइन्।

कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहँदा खोपलाई लिएर विभिन्न गलत सूचना तथा अफवाहहरु फैलिने क्रम जारी छ। जसले खोप अभियानमा गम्भीर प्रभाव परेको छ।

विगत एक वर्षभन्दा लामो समयदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने एकमात्र अन्तिम विकल्पका रुपमा खोपलाई लिइएको छ।