उपराष्ट्रपति र सभामुखलाई सूर्य थापाले भने – सम्मानित पदमा बसेर गैर जिम्मेवार बन्न मिल्दैन

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा सम्मानित पदमा बसेर गैरजिम्मेवार बनेको टिप्पणी गरेका छन् ।

प्रदेश २ का प्रदेश प्रमुखको शपथ बहिस्कार गरेको प्रति कटाक्ष गर्दै थापाले सामाजिक सञ्जालमार्फत सम्मानित पदमा बसेर उपराष्ट्रपति र सभामुखले यसढंगले गैरजिम्मेवार बन्न नमिल्ने टिप्पणी गरेका हुन् ।

शुक्रबार सरकारले राष्ट्रपति भवनमा आयोजना गरेका शपथग्रहण समारोह बहिष्कार गरका थिए ।

‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्वजानकारी गराएरबाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन,’ उनले भनेका छन् ।

सल्लाहकार थापाले अगाडि लेखेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिँड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

साथै उनले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्याधीश, पूर्वउपकुलपति र पूर्वप्रमुख निर्वाचन आयुक्तहरूलाई पनि गाली गरेका छन् । उनले लेखेका छन्, ‘पूर्वहरूको बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो ।’