विराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


विराटनगर, फागुन ८ : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी भएको छ । प्रम ओली विराटनगर पुगेलगत्तै प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा ओलिएपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको हो ।

शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएको हो ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक प्रदेश १ मा आमसभालाई सम्बोधन गर्न लागेका हुन् । ओली दुई वर्षपछि विराटनगर पुगेका हुन् ।

आज हुने जनसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य ओली समूहले गरेको छ । प्रधानमन्त्री ओली आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रधानमन्त्री ओलीको सुरक्षामा चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।